
कपिलवस्तु, २९ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जाडो र सुख्खा मौसममा हुने दुधको माग तथा आपूर्तिको असन्तुलनलाई सम्बोधन गर्न प्रदेश सरकारले नीतिगत सुधार गर्ने बताउनुभएको छ ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ मा रहेको ग्लोबल डेरी प्रालिको अवलोकन गर्ने क्रममा मुख्यमन्त्री आचार्यले किसानसँग प्रत्यक्ष जोडिएको डेरी क्षेत्रलाई व्यवसायीकरण गरेर उद्योगको रुपमा विकास गर्न प्रदेश सरकारले साथ दिने बताउनुभयो । ‘यहाँ रहेको डेरी प्लान्टबारे मलाई जानकारी छ । योसँग लुम्बिनी प्रदेशका किसान मात्रै होइन अन्य प्रदेश र जिल्लाका किसान पनि जोडिनुभएको छ । किसानले उत्पादन गरेको दुधको खरिद, बिक्री प्रणालीलाई सहज बनाउन प्रदेश सरकारले पनि साथ दिन्छ ।’ उहाँले भन्नुभयो, ‘भविष्यमा डेरी क्षेत्रबाट किसानको आम्दानी बढाउन र प्रत्यक्ष रोजगारीको अवसर सृजना गर्न सकिने थुप्रै आधार छन् ।’

लुम्बिनी प्रदेशमा पाउडर प्लान्ट छैन् । जसले गर्दा किसानहरुले उत्पादन गरेको दुधको बजारीकरणमा समस्या पर्दै आएको छ । जाडो मौसममा दुध बिक्री नभएर किसानहरुले मिल्क होलिडेको मारमा किसान पर्ने गरेका छन् । पाउडर प्लान्ट स्थापना गरेर दुधको बजारीकरणमा सहयोग गर्ने बारेमा प्रदेश सरकारले नीतिगत सुधार गर्ने प्रतिबद्धता मुख्यमन्त्री आचार्यले व्यक्त गर्नुभयो ।
यसैगरी,लुम्बिनी प्रदेश सभा सदस्य गिरधारीलाल न्यौपानेले दुध उत्पादनमा लुम्बिनी प्रदेश आत्मनिर्भर भएपनि किसानले उत्पादन गरेको सबै दुध बजारसम्म पुग्न नसक्दा समस्या भएको बताउनुभयो । प्रदेश सरकारले दुधको बजारीकरणका लागि नीजि क्षेत्रसँग सहकार्य गर्दा सहज हुने सुझाव दिनुभयो । ‘यहाँको उत्पादन देश भित्र मात्र होइन, देश बाहिर पनि बिक्री वितरण भइरहेको छ ।’ उहाँले भन्नुभयो, ‘यो उद्योगले लुम्बिनी प्रदेशलाई दुधको बजारीकरणमा ठूलो योग्दान पुर्याएको छ ।’
ग्लोबल डेरीले किसानहरुले उत्पादन गरेको दुध खरिद गरेबाफत नियमित भुक्तानी दिँदै आएको, कृषि बीमासँग जोडेको, चोकर, दाना तथा घाँस खेतीका लागी सहयोग गर्दै आएको ग्लोबल डेरी प्रालिका अध्यक्ष थानेश्वर न्यौपानेले बताउनुभयो । उहाँले डेरीसँग प्रत्यक्ष र सहकारीमार्फत २० हजार किसान प्रत्यक्ष जोडिएको जानकारी दिनुभयो । २०७१ सालमा स्थपना भएको उद्योगले दुध, दही, घ्यू, पनिर, छुर्पि, खुवा, मोही, बटर, मिठाईलगायत उत्पादन गर्दै आऐको छ ।

देशका ठूला शहरहरुलाई बजारको रुपमा मानेको उद्योगले काठमाडौंमासमेत उद्योग स्थापना गरेर कारोबार सुरु गर्न थालेको प्रालिका प्रबन्ध निर्देशक जनक न्यौपानले जानकारी दिनुभयो । ८१ वटा दुध संकलन र चिस्यान केन्द्र सञ्चालनमा ल्याएको छ । सुदूरपश्चिमको कञ्चनपुरसम्म दुध संकलन गर्दै आएको उद्योगले पूर्व झापामा आफ्ना उत्पादन बिक्री वितरणका लागी पुर्याउने गरेको छ । देश बाहिर पनि उत्पादन पठाउने बारेमा अध्ययन भइरहेको र त्यसका लागि सरकारलाई सहजीकरण गर्न आग्रह गरिएको बताइएको छ । गतवर्ष उद्योगले १ करोड १७ लाख लिटर दुध किसानबाट खरिद गरेको छ ।









प्रतिक्रिया