
काठमाडौं, २८ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यो वर्षलाई नीति निर्माण गर्ने र विधेयक पास गर्ने वर्ष बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
शुक्रबार काठमाडौं आयोजित सामुदायिक रेडियो प्रसारक संघको १८औं वार्षिक साधारण सभा र अधिवेशनमा उहाँले राजा महेन्द्रको नीतिले अझै पनि चलिरहेको भन्दै त्यसलाई परिवर्तन गर्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘यो वर्ष कतिपय नीति संशोधन गर्नुपर्ने छ । राजा महेन्द्रको नीति त फाल्नुपर्यो नि । गणतन्त्रात्मक शासन प्रणालीमा काम गर्ने नीति बनाउनु पर्यो । त्यही नीतिअनुसार विधेयकहरु बनाउनुपर्ने हुन्छ । यो वर्ष सबै नीति निर्माण गर्ने, विधेयक पास गर्ने वर्ष बनाउने हो ।’ यसका साथै, उहाँले पञ्चायतको नीति, कानूनबाट शासित क्षेत्रलाई सुधार गर्ने अवसर प्राप्त भएको भन्दै खुशी पनि व्यक्त गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘कुनै अभियान सञ्चालन गर्नको लागि कुनै अध्ययन हुँदैन, अभ्यास पनि हुँदैन । नीति पनि हुँदैन । एक्कासी अभियान सुरु हुन्छ । अझै पनि १९, १५, १३ र २६ सालका कानूनले चलिरहेका छौँ । बहुदलमा दुईवटा मात्र कानून बनेको छ, एउटा प्रेस काउन्सिलको र अर्को सञ्चार ऐन संशोधन भएको रहेछ । बाँकी सबै राजा महेन्द्रको कानूनबाट शासित रहेछ । बहुदलीय व्यवस्थामा बसेर पञ्चायतको नीति, कानूनबाट शासित छौँ हामी । यसरी कसरी विकास हुन्छ । यसलाई सुधार गर्ने अवसर प्राप्त भएको छ भनेर म खुशी पनि छु ।’ सबै पार्टीले भाषण गर्न जान्ने नेताहरु मात्र धेरै निर्माण गरेको भन्दै कुर्सीमा बसेर शासन गर्न योग्य नेताको आवश्यकता रहेको पनि उहाँको भनाई छ ।









प्रतिक्रिया