
काठमाडौं, २८ भदौ । सहकारी ठगी प्रकरण छानबिन गर्न गठन गरिएको संसदीय छानबिन विशेष समितिले कांग्रेसका उपसभापति धनराज गुरुङ मुछिएको मितेरी सहकारीको स्थलगत निरीक्षण गरको छ ।
समितिका सभापति सूर्य थापासहित सबै सदस्यले सहकारीको स्थलगत निरीक्षण गरेर जानकारी लिनुभएको छ । त्यसक्रममा समितिले सहकारीका अध्यक्ष कुम्भराज गुरुङसँग धनराज दम्पती जोडिएको १५ करोड बचत हिनामिना बारे सोधपुछ गरेको थियो ।
श्रीमतीसँग डिभोर्स भएको भनिए पनि श्रीमतीको नाममा रहेको ऋण धनराज गुरुङ आफैले पटक-पटक आएर तिरेको सहकारीका अध्यक्ष गुरूङले समितिलाई बताउनुभएको थियो । एक महिनाअघि मात्रै आएर धनराजले ऋणको पैसा तिरेको बताउँदै कुम्भराजले कागजीरूपमा मात्र डिभोर्स भएको बताउनुभएको छ ।
यसअघि समितमै बोलाएर पनि कुम्भराजको बयान लिइएको थियो । त्यसक्रममा उहाँले तत्कालीन महाप्रबन्धक ज्योति गुरुङले गरेको रकम हिनामिना र त्यसपछि धनराज आफै सञ्चालक समिति बैठकमा बसेर रकम फिर्ता गर्ने सम्झौता गरेको समितिलाई जानकारी गराउनुभएको थियो ।
धनराज गुरुङले भने २०७६ सालमै ज्योतिसँग सम्बन्धविच्छेद भइसकेको र ज्योतिले गरेको सहकारी बचत हिनामिनासँग आफ्नो सम्बन्ध नरहेको बताउँदै आउनुभएको छ ।
आफ्नो प्रतिवेदन बुझाउने अन्तिम तयारीमा रहेको समितिले बिहीबार कार्यविधिबमोजिम निर्णय गरी ३ वटा सरकारी निकाय र १३ वटा सहकारी संस्थाहरूको स्थलगत निरीक्षण गरेको सभापति थापाले जानकारी दिनुभएको छ ।









प्रतिक्रिया