२८ जेष्ठ २०८३, बिहिबार

पशुपति कोटिहोम महायज्ञमा ७२ लाख घाटा भयो : विजय भण्डारी

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ भदौ । पशुपातिनाथ मन्दिर परिसरमा एक महिनासम्म सञ्चालन भएको ‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवम् १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’मा घाटा भएको आयव्यय सार्वजनिक गरिएको छ ।

मानव सेवा फाउन्डेसनले पत्रकार सम्मेलनको आयोजना गर्दै आयव्यय सार्वजनिक गर्नेक्रममा ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको विवरण सार्वजनिक गरेको हो । विजय कृष्णमूर्ति उर्फ विजय भण्डारीकाअनुसार कोटिहोममा कुल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र द्रव्य दान संकलन भएको छ । तर कोटिहोम लगाउने सिलसिलामा २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको उहाँले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

उहाँले दिएको विवरणलाई आधार मान्दा ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको देखिन्छ । तर कबोल गरिएकोमध्ये करिब दुई करोड रुपैयाँ उठ्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

साउन महिनाभर चलेको महायज्ञबाट उठेको रकमले मामाघर अनाथालय आश्रम, ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माणलगायत मानवीय सेवाका लागि सहयोग जुटाउने योजना थियो । फाउन्डेसनले मामाघर अनाथालय आश्रमले अनाथ र आधारभूत आवश्यकताबाट वञ्चित बालबालिकालाई निःशुल्क भोजन, आवास तथा स्वास्थ्य र शिक्षा प्रदान गर्दै आएको छ ।

यस्तै, छोरीको घर ज्येष्ठ नागरिक आश्रमले बेसहारा, शोषित र पीडित ज्येष्ठ नागरिकलाई गाँस, बास, कपासका साथै स्वास्थ्य सेवा दिँदै आएको छ ।

महायज्ञमा वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेल, राधिका दासी, श्री राम कथा वाचक चन्द्रकला सखी र श्रीमद्भागवतकी लोकप्रिय युवा कथा वाचिका देवी प्रतिभालगायतले कथा वाचन गर्नुभएको थियो ।