
विराटनगर, २८ भदौ । कोशी प्रदेश सभामा विषयगत समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका छन् । विषयगत समितिका सभापतिहरुको निर्वाचन तालिकाअनुसार विहिबार मनोनय दर्ता र आज निर्वाचन हुने तालिका रहेको थियो ।
तालिकाअनुसार न्याय, प्रशासन तथा विधायन समितिमा कमला दर्नाल, सुशासन तथा योजना समितिमा खगेश्वरी पौड्याल, अर्थ समितिमा विनोद राई, सार्वजनिक लेखा समितिमा राजन किराँती, सामाजिक विकास समितिमा गयानन्द मण्डल गनगाईं, उद्योग, पर्यटन तथा वातावरण समितिमा रामदेव यादव र प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिमा होमबहादुर थापाले मनोनयन दर्ता गराउनुभएको थियो ।
प्रत्येक समितिमा १/१ जनाले मात्र मनोनय दर्ता गरेकाले उहाँहरु निर्विरोध निर्वाचित भएको कोशी प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।
समितिका सभापतिहरुमा नेकपा (एमाले) र नेपाली कांग्रेसका ३/३ जना र नेकपा (माओवादी केन्द्र)का एक जना निर्विरोध निर्वाचित भएका छन् ।
दलहरुबीच भएको भागबण्डामा एमालेका होमबहादुर थापा प्राकृतिक स्रोत तथा पूर्वाधार समिति, कमला दर्नाल न्याय प्रशासन तथा विधायन समिति र रामदेव यादव उद्योग, पर्यटन तथा वातावरण समितिको सभापति बन्नुभएको हो ।
त्यस्तै, कांग्रेसबाट सामाजिक विकास समिति सभापतिमा गयानन्द मण्डल, सुशासन तथा योजना समितिको सभापतिमा खगेश्वरी पौडेल र अर्थ समितिको सभापति विनोद वान्तवा राई बन्नुभएको छ ।
त्यसैगरी, माओवादीले सार्वजनिक लेखा समितिको सभापति पाएको छ र राजन किराँती सभापति बन्नुभएको छ ।
आज बस्ने प्रदेश सभा बैठकले समितिका सभापति निर्वाचित भएको औपचारिक घोषणा गर्ने छ ।








प्रतिक्रिया