
–युवराज रोइला
जन्म र मृत्यु आफैमा शाश्वत सत्य हो । यसलाई विश्व जगतलेसमेत निर्विकल्प स्वीकार गरेको छ । मानिसले जन्म र मृत्युको बीचमा विभिन्न प्रकारका आरोह अवरोहको सामना गर्दै अन्ततोगत्वा उक्त शाश्वत सत्यलाई स्वीकार गर्दै जीवनको अन्तिम श्वास फेर्ने गर्दछ । हाम्रो नेपाली समाजमा मानिसको मुल्याङ्कन र जयजयकार उसको भौतिक शरीरको देहावसान पश्चात मात्र हुने गरेको छ । हुन त हाम्रो नेपाली समाजमा, “बाँच्दाका जन्ती, मर्दाका मलामी” भनाइ पनि विद्यमान नै रहेको छ । भनाइको शाब्दिक अर्थ मानिसको मूल्याङ्कन उसको विवाहमा जाने जन्ती र मृत्युमा जनाइने मानिसहरुको उपस्थिति अर्थात मलामीले गर्ने गरेको पाइन्छ ।
हरेक मान्छेका आ–आफ्नै किसिमका समस्याहरु हुन्छन् । हरेक समस्या आफू एक्लै आएको हुँदैन । उसले आफूसँगै समाधान पनि ल्याएको हुन्छ । तर यसको पहिचान गर्न नसक्दा वर्षेनी सयौँ मानिसहरु अकालमा मृत्युवरण गर्न बाध्य छन् । जसका कारण कति आमाहरुको काख रित्तिएको छ । कति दिदीबहिनीहरुको सिउँदो पुछिएको छ । कति सन्तानले आफ्ना अभिभावक गुमाएका छन् ।
यसै प्रसंगमा अहिंसाको बाटोमार्फत बेलायती उपनिवेशवादबाट स्वतन्त्र भारत निर्माण गर्ने भारतका सन्त नेता महात्मा गान्धीको एउटा भनाई सापटी लिन मन लाग्यो, “छिटो गए भन्न सकिन्न, ढिलो गए अवश्य पुगिन्छ ।” भारतमाथि बेलायती उपनिवेशवाद आफैमा विकराल समस्या थियो । बेलायतसँग प्रसस्त मात्रामा हातहतियार थिए । आर्थिक र शैन्य जनशक्तिमा बलियो थियो । तर पनि यत्तिमा मात्रामा बलियो रहेको बेलायतलाई भारतले परास्त गर्दै विजय प्राप्त गर्यो । यो सबै हुनुमा समस्यासँगै आएको समाधानको पहिचानको महत्वपूर्ण भूमिका रहेको थियो ।
सन् २००० देखि हाल सन् २०२४ को बीचमा युट्युव, गुगल, ट्वीटर (एक्स) इस्टाग्राम, फेसबुक, च्याटजिपीजी, पब्जी, टिकटकलगायका विविध सामाजिक सञ्जालहरु जन्मिएका छन् । सामाजिक सञ्जालको विकाससँगै यसको अर्थपूर्ण उपयोगमार्फत आर्थिक उपार्जन गर्ने एकथरी जमात पनि छ । त्यसैगरी, अर्काेथरी सामाजिक सञ्जालको दुरुपयोगमार्फत हिंसा, आतंक, लुटमाट, हत्या लागाएतका अमानविय कार्य गर्ने जमात पनि रहेको छ । यहि समाजमा गौतम बुद्ध जस्ता मानिसहरु पनि बस्छन् । त्यसैगरी, यहि समाजमा रावण जस्ता मानिहरु पनि बस्छन् । यहि समाजमा महाभारतका अर्जुन दृष्टि राख्छन् त कोही त्यहीँ महाभारतका सकुनीको चरित्र धारण गर्छन् । माथि उल्लेखित हरेक घटनाक्रम घटित हुनुमा मानव शरीरका सात चक्रहरुको महत्वपूर्ण भूमिका रहेको हुन्छ । ती सात चक्रहरुमा पहिलो मूलाधार चक्र, दोस्रो स्वाधिष्ठान चक्र, तेस्रो, मणिपुर चक्र, चौथो अनाहत चक्र, पाँचौँ विशुद्ध चक्र, र छैटौं चक्रका रूपमा आज्ञा चक्र रहेको छ ।
शरीरका सात चक्र र तिनको प्रभाव
१) मूलाधार चक्र: यो बीजचक्र पनि हो । यो चक्र मेरुदण्डको सबैभन्दा तल्लो भागमा रहन्छ । यो चक्र सबैको शरीरमा पूर्ण रूपले विकास भएको हुन्छ । मूलाधार चक्रविना जीवन नै सम्भव हुँदैन । जीवनको सुरुवातसँगै मूलाधार चक्र पनि विकसित र सक्रिय हुन थाल्छ । त्यसैले पनि यसलाई मूलाधार चक्र भनिएको हो । यो चक्रमै जीवनको विकास रोकिएकाहरूमा खानपिन, आराम, अभिव्यक्ति जस्ता कुराको मात्रै संस्कार रहन्छ भने जसरी पनि खानु नै उनीहरूको मुख्य लक्ष्य हुन्छ ।
२) स्वाधिष्ठान चक्र: स्वाधिष्ठान चक्र मानव शरीरको प्रजनन अङ्गको निकट हुन्छ । यो चक्रले काम तथा वासनालाई सक्रिय अनि आन्दोलित गराउने हुन्छ । मानव सभ्यता र संस्कृतिको प्रारम्भिक कालमा जब मान्छेलाई आफ्नो प्रजनन अङ्गका बारेमा थाहा भयो, तबदेखि नै उसले प्रजनन अङ्गलाई छोप्ने तथा लुकाउने कार्य गरेको पाइन्छ । जसको जीवनमा स्वाधिष्ठान चक्र सर्वाधिक सक्रिय हुन्छ, उसको जीवन सम्पूर्ण रूपमा कामकलाकै वरिपरि घुमिरहने हुन्छ । उसको धर्म, कर्म, जीवनको सारा उन्नतिको कारक तथा पद–प्रतिष्ठा आदि सबैको मूलमा काम वासना नै हुन्छ । काम वासनाविनाको उसको जीवन नै निरर्थक बन्न पुग्ने हुन्छ । मानव सभ्यता कामकलाको चक्रभन्दा माथिको चक्र अर्थात् मणिपुर चक्रलाई विकास गर्ने र सक्रिय गर्नेतर्फ अग्रसर भएको पाइन्छ । मणिपुर चक्र विकसित र सक्रिय भएका व्यक्तिहरू समाजमा अत्यन्तै न्यून हुन्छन् । यस्ता मानिसहरूलाई समाजले सहजै नपचाउने, समाजले फरक दृष्टिले हेर्ने र समाज त्यस्ता व्यक्तिहरूबाट भयभीत हुन पुग्छ ।
३) मणिपुर चक्र: यो चक्र नाभि केन्द्रमा रहन्छ । हामीले खाएका सबै खानेकुरा नाभि चक्र हुँदै पाचन प्रणालीमा निष्कासनतर्फ जाने हुन्छ । नाभि केन्द्र विचारको केन्द्र पनि भएकाले जस्तो खानेकुरा खान्छौं, सोही अनुकूलको विचार उत्पन्न हुने हुन्छ । मानव सभ्यताको विकासको क्रम जब चल्दै गयो र कामकलाको चक्र तोडेर माथितर्फ अग्रसर भयो तब मानव जीवनमा विचारहरूको प्रवाह बढ्न थाल्यो । आदेश र निषेधका विविध नियम लागू हुन थाले । विविध चिन्तनमननका कार्य हुन थाले ।
४) अनाहत चक्र: यो चक्र हृदय केन्द्र निकट रहन्छ । हृदय भनेको मन हो भने हृदय केन्द्र शक्तिशाली हुनेहरूमा आत्मविश्वास ज्यादा रहन्छ । मन शक्ति र प्राण शक्तिको योगले असाध्य कर्म पनि गर्न सक्ने खालका हुन्छन् । मणिपुर चक्र विकसित र सक्रिय भएका व्यक्तिहरू समाजमा अत्यन्तै न्यून हुन्छन् । यस्ता मानिसहरूलाई समाजले सहजै नपचाउने, समाजले फरक दृष्टिले हेर्ने र समाज त्यस्ता व्यक्तिहरूबाट भयभीत हुन पुग्छ । अनाहत चक्र योगीहरू, उच्च कोटिका तान्त्रिकहरू, ध्यानीहरूको पूर्ण विकास र सक्रिय हुन्छ । यस्ता व्यक्तिहरू समाजमा सहज हिसाबले बाँच्न सक्तैनन् । समाजले यस्ता व्यक्तिहरूलाई सहजै पचाउन नसक्ने भएकाले नै यिनीहरू समाजबाट केही भिन्न खालको जीवन बिताउन बाध्य हुन्छन् । समाजमा रहेकाहरू पनि समाजमा आफ्नो प्रतिभा तथा व्यक्तित्व लुकाएर बाँच्न विवश हुन्छन् ।
५) अनाहत चक्रभन्दा माथिका पाँचौँ चक्रका रूपमा विशुद्ध चक्र, छैटौं चक्रका रूपमा आज्ञा चक्र तथा सातौं चक्रका रूपमा रहेको सहस्रार चक्रको भेदन गर्नेहरू सायद सामान्य मान्छेका लागि प्राप्य नहोलान् । यसरी हेर्दा मानव समाजतर्क र विचारभन्दा माथि उठ्न नसकेको अवस्थामा रहेको बुझ्न सकिन्छ ।
आधुनिक मानिएको हाम्रो नेपाली समाज अझै पनि वर्तमान परिपेक्षमा मूलाधार, स्वाधिष्ठान तथा मणिपुर चक्रकै वरिपरि चलिरहेको पाइन्छ । हाम्रो समाज पछिल्लो एकदशकयता अध्ययन कम मनोरञ्जन बढी, कर्म कम फलको अपेक्षा बढी, मौलिकता कम पाश्चात्य संस्कृतिको अनुशरण बढी, स्वमुल्याङ्कन कम अरुको मुल्याङ्कन बढी आदि गरिएका कुराहरुमा नराम्रोसँग रुमलिएको पाइन्छ ।
अझै पनि हाम्रो मानव जीवन आफ्नो क्षमता, मूल्य, मान्यता, परमपरा, धर्म र संस्कार जस्ता कुराहरुमा परिचित बन्न सकेको छैन् । प्राचीन ऋषिमुनिहरू मनोबल, योगबल, तपोबलको प्रयोग गरेर असाध्य मानिएका कर्महरू पनि सहजै सम्पन्न गर्थे । तर, आजको मानिस मणिपुर चक्रभन्दा माथि जान नसक्दा निरीह र दुःखी जीवन बिताउन विवश छन् ।
अन्तमाः हरेक समस्या आफै मात्र आउँदैनन् साथमा समाधान पनि ल्याएका हुन्छन् । हरेक दुःख आफैमात्र आउँदैनन् साथमा सुख पनि ल्याएका हुन्छन् । मावन जीवनका हरेक घटना घटित हुनुमा कुनै न कुनै रहस्य अवश्य लुकेको हुन्छ । तसर्थ यसको पहिचान गरौँ र समाधानमा रमाऔँ । हामो नेपाली समाजले एकपटक हाम्रो मानव शरीरका सात चक्र र यसका बहुआयामिक उपयोगलाई चिनेर यसको उपप्रयोग मात्र गर्न सके अझै पनी वैयक्तिक उन्नयनसँगै सामाजिक उन्नयन र समग्रमा राष्ट्रिय उन्नयन हुनेमा दुईमत नरहला ।









प्रतिक्रिया