काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ मोटरसाइकल दुर्घटनामा परेका छन्। उदयपुरको कटारीबाट बेलकातर्फ जाँदै गरेका क्रममा उनी आफैँले चलाइरहेको मोटरसाइकल अनियन्त्रित भई लडेका हुन्।
साम्पाङले यात्रा गरिरहेका बेला एक हातले मोटरसाइकल चलाउँदै अर्को हातले मोबाइल फोन प्रयोग गरी भिडियो खिचिरहेका थिए। सोही क्रममा सन्तुलन गुम्दा मोटरसाइकल दुर्घटनामा परेको हो ।
दुर्घटनापछि सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा साम्पाङले आफ्नो हातमा लागेको चोट देखाएका छन्। उनको एक हातमा घाउ लागेको तथा लगाएको कपडासमेत च्यातिएको देखिन्छ। यद्यपि उनलाई ठूलै चोट भने लागेन ।
दुर्घटनाबारे प्रतिक्रिया जनाउँदै साम्पाङले सामाजिक सञ्जालमार्फत आफूलाई सामान्य चोट लागेको उल्लेख गरेका छन्। उनले आफू दुर्घटनामा परे पनि अरू कसैलाई कुनै क्षति नपुर्याएको बताएका छन्।
सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्नु ट्राफिक नियम विपरीत मानिन्छ। अझै राष्ट्रिय पार्टीका अध्यक्ष साथै प्रतिनिधिसभा सांसद समेत रहेका साम्पाङले नै ट्राफिक नियमको धज्जी उडाउँदा चौतर्फी आलोचना भइरहेको छ ।








प्रतिक्रिया