
सिन्धुपाल्चोक, २७ भदौ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले मुलुकलाई दिशानिर्देश गर्ने एक मात्र पार्टी एमाले रहेको बताउनुभएको छ ।
एमाले चौतारा साँगाचोकगढी नगर कमिटीले आयोजना गरेको वृहत् पार्टी प्रवेश तथा जागरण अभियानको सुरुवात गर्दै नेता भट्टराईले गएको निर्वाचनमा केही अलमलका कारण पहिलो पार्टी बन्न नसकेको र अब एमाले पार्टीविरुद्धको घेराबन्दी तोडिएको बताउनुभयो । नेपाली कांग्रेस र नेकपा एमाले नै अबको मुख्य प्रतिस्पर्धी भएको उहाँको धारणा छ ।

‘माओवादी अब गणनामा आउँदैन, मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसको हो भन्ने थाहा हुँदाहुँदै सत्ता साझेदार बनेको छ । यसको खास कारण एमालेप्रतिको घेराबन्दीको अन्त्य र मुलुकको आजको आवश्यकताले हो ।’ भट्टराईले भन्नुभयो, ‘राष्ट्रिय संकटबाट मुक्ति र समृद्धिको लागि वर्तमान गठबन्धनको सरकार निर्माण भएको हो ।’ माओवादीको ओरालो यात्रा आजको पार्टी प्रवेशले प्रष्ट्याएको बताउँदै यस्ता अभियान निरन्तर चल्ने उहाँले बताउनुभयो ।
एमालेले अब माओवादीलाई बोक्दैन : महेश बस्नेत
कार्यक्रममा बोल्दै एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले आगमी निर्वाचनमा माओवादी पार्टीसँग सहकार्य नगर्ने बताउनुभयो । ‘एमाले फुटाउने, कहिले यता खेल्ने, कहिले उता खेल्ने प्रचण्डको चरित्र उदाङ्गो भैसकेको छ । अब एमालेले माओवादीलाई बोक्दैन’ पूर्वमन्त्रीसमेत रहनुभएका बस्नेतले भन्नुभयो, ‘समुदाय भड्काउने, ध्वंशको राजनीतिबाट माथि नउठ्ने माओवादीको अब कुनै भविष्य छैन ।’

‘हिंसा हिंसा नै हो, कोटिहोम होइन, मान्छे मार्नुलाई हामीले कोटीहोम मान्ने ?’ बस्नेतले प्रश्न गर्नुभयो ।
‘आज सयौंको संख्यामा माओवादी पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नुभयो, माओवादी नेता अग्नी/सुवोध सापकोटालाई जनताले नै जवाफ दिनुभयो ।’ नेता बस्नेतले भन्नुभयो, ‘माओवादीले आफ्नो अस्तित्व सम्झिएको चौतारामा आफ्नो जनाधार समाप्त गरेको छ, अब माओवादीले कहीँ कतै जित्दैन । एमाले प्रवेश कार्यको यो सुरुवात मात्र हो ।’ माओवादी कै कारण देशको समृद्धिको यात्रा सुस्त बन्न पुगेको उहाँले आरोप लगाउनुभयो ।
एमालेको पहिलो सरकारको जनमुखी कार्यक्रमसँगै एमाले सरकारमा हुँदा सुरु भएका महत्वपूर्ण कार्यक्रमहरु सामाजिक सुरक्षा, भूकम्प पछिको पूननिर्माण, नाकाबन्दीको सामाना, स्थानीय विकासमा आफ्नो गाउँ आफै बनाउ, स्थानीय निकायमा बजेटको व्यवस्थापन, स्वास्थ्य क्षेत्रमा भएका सुधार, सडक संजालमा एमाले सरकारको सकारात्मक सुधारलगायतका कामको जानकारी दिँदै नेता बस्नेतले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समृद्धिको नायक उपमा दिनुभयो । माओवादीले ध्वंशको राजनीति गरेको र अनेकन तस्करीमा संलग्न भएको बस्नेतको आरोप छ । एमाले र कांग्रेसको समीकरणले माओवादीमा व्यापक छटपटाहट भएको उहाँको भनाइ छ ।
यसैगरी, कार्यक्रममा एमाले केन्द्रीय सदस्य सरेश नेपालले समृद्धिको यात्रा पूरा गर्न एमाले मात्र विकल्प रहेको बताउनुभयो । राष्ट्र निर्माणको लागि एमालेमा आवद्ध हुन अर्का केन्द्रीय सदस्य सुभास कर्माचार्यले आह्वान गर्नुभयो ।
माओवादी पार्टीमा लागेर आफ्नो, समाजको र देशको हित नहुने धारणा राख्दै एमाले नेता अमानसिंङ तामाङले प्रगतिशील शक्तिलाई एमालेमा आउन उहाँले आग्रह गर्नुभयो । माओवादी नेताहरुको आफ्नै व्यक्तिगत उन्नति बाहेका कार्यकर्ता र देशलाई कुनै हित नगर्ने माओवादी प्रवृत्तिको चर्को आलोचना गर्नुभयो ।
३ सय १९ जना एमालेमा प्रवेश
वृहत् पार्टी प्रवेश तथा जागरण अभियान कार्यक्रममा ३ सय १९ जना विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । अधिकांश माओवादीबाट अन्य राप्रपा, समाजवादी र कांग्रेसबाट एमालेमा प्रवेश गरेका हुन् । वडा नम्बर १ बाट १ सय ४०, वडा नम्बर ५ बाट ४३ सहित ३ सय १९ जना एमाले पार्टी प्रवेश गरेको एमाले सिन्धुपाल्चोकका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।








प्रतिक्रिया