
काठमाडौं, २७ भदौ । संसदीय सुनुवाइ समितिले स्पेन, श्रीलंकालगायतका देशका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ सकेको छ ।
बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले स्पेनका लागि प्रस्तावित राजदूत शनिल नेपाल, श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईलगायतका प्रस्तावित राजदूतको सुनुवाइ गरेको हो ।
सुनुवाइका क्रममा स्पेनका लागि प्रस्तावित राजदूत शनिल नेपालले दुई देशको उच्चस्तरीय राजनीतिक भ्रमणका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
त्यस्तै, उहाँले नेपालले संयुक्त राष्ट्रसंघमा वा अन्य अन्तर्राष्ट्रिय संघ संस्थामा उम्मेदवारी दिइएको अवस्थामा स्पेनको समर्थन जुटाउन प्रयास गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाल र स्पेनबीच उच्चस्तरीय राजनीतिक भ्रमणका लागि पहल गर्नेछु । साथै नेपालले संयुक्त राष्ट्रसंघमा वा अन्य अन्तर्राष्ट्रिय संघ संस्थामा उम्मेदवारी दिइएको अवस्थामा स्पेनको समर्थन जुटाउन प्रयास पनि गर्नेछु ।’
नेपाल र स्पेनका परराष्ट्र मन्त्रालयबीच नियमित रुपमा वार्ता र द्विपक्षीय संयन्त्रहरुलाई क्रियाशील बनाउन पहल गर्ने पनि उहाँको भनाइ छ ।
त्यस्तै, श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले आर्थिक कुटनीतिलाई केन्द्रविन्दु बनाएर काम गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, ‘आर्थिक कुटनीतिलाई केन्द्रविन्दु बनाएर काम गर्नेछु । लुम्बिनीको विकासका लागि थप आर्थिक सहयोग जुटाउनसमेत प्रयास गरिनेछ ।’
उहाँले लुम्बिनी, काठमाडौं र कोलम्वोबीच नियमित हवाई उडान सञ्चालनका लागि पहल गर्नेसमेत बताउनुभयो ।









प्रतिक्रिया