१६ असार २०८३, मंगलबार

नाकामा सावधानी नअपनाउँदा एमपक्सको जोखिम

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, २७ भदौ । पश्चिमी नाका गड्डाचौकीमा सावधानी नअपनाउँदा एमपक्स संक्रमणको जोखिम बढेको छ । भारतमा हालै एक जनामा एमपक्स संक्रमण पुष्टि भए पनि अझै नाकामा सावधानी अपनाइएको छैन ।

भारतबाट गड्डाचौकी नाका भएर दैनिक तीन सयको हाराहारीमा मानिस स्वदेश फर्किंदैछन् । भारतबाट फर्किनेको सामान्य जाँच पनि नहुँदा संक्रमणको जोखिम बढेको हो ।

गड्डाचौकीस्थित ‘हेल्थ डेस्क’मा भारतबाट फर्किनेमा कोरोना, डेङ्गु, एचआइभीलगायत रोग जाँच गर्ने गरिन्छ । उपकरण अभावमा एमपक्सको जाँच हालसम्म सुरुआत गर्न नसकिएको हेल्थ डेस्कमा कार्यरत ल्याब टेक्निसियन लक्ष्मी रिमाल धामी बताउनुहुन्छ ।

‘हामीसँग उपकरण छैन । एमपक्ससम्बन्धी कुनै तालिम पनि पाएका छैनौँ’, उहाँले भन्नुभयो, ‘नेटमा हेरेर थाहा पाएको लक्षण मिल्दा मानिस आएमा निगरानी राख्छौँ । लक्षण, हाउभाउ हेरेर स्क्रिनिङ मात्रै गर्ने गरिएको छ ।’

उहाँकाअनुसार शङ्कास्पद लक्षण देखिए अस्पताल रेफर गर्ने गरिएको छ । हालसम्म शङ्कास्पद लक्षण देखिएका सात जनालाई रेफर गरिएको उहाँको भनाइ छ ।

भारतको विभिन्न ठाउँबाट दैनिक भित्रिने करिब अढाइ सय मानिसको स्क्रिनिङ भइरहेको छ । पैदल हिँडेर आउने मानिस स्क्रिनिङ पर्ने भए पनि सवारीसाधनबाट आउने मानिसको स्क्रिनिङ नै गर्न नसकिएको ल्याब टेक्निसियन धामी बताउनुहुन्छ । ‘गाडीमा आउनेहरू नाकामा रोकिँदैनन् । सिधै जान्छन् । त्यसैले उहाँहरूलाई स्क्रिनिङ नै गर्न भ्याइँदैन’, उहाँले भन्नुभयो ।

गड्डाचौकी नाका भएर महेन्द्रनगरदेखि दिल्ली र देहरादुनसम्म मैत्री बससेवा पनि सञ्चालनमा छन् । करिब एक दर्जन बसमा आउने यात्रु पनि जाँच नगरिकनै भित्रिने गरेका छन् । कतिपय यात्रु तेस्रो मुलुकबाट दिल्ली विमानस्थल हुँदै पनि आउने गरेका कारण संक्रमणको जोखिम छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत ओमप्रकाश जोशीका अनुसार सरकारले नाकामा स्क्रिनिङ गर्नका लागि पत्राचार गरेको छ ।

‘एमपक्स जाँचका लागि हामीसँग किट उपलब्ध छैन । स्क्रिनिङ गर्ने भन्ने परिपत्र आएको छ । हामीले त्यहीअनुसार गरिरहेका छौँ’, उहाँले भन्नुभयो, ‘स्क्रिनिङमा शङ्कास्पद देखिएकालाई अस्पताल जान भनेर काउन्सिलिङ गर्ने गरेका छौँ ।’