
सिन्धुली, २६ भदौ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा बागमती प्रदेशका इन्चार्ज डाक्टर राजन भट्टराईले एमाले र कांग्रेसबीच बनेको गठनबन्धन सरकार सफल नभए देशका कुनै पनि सरकार टिकाउ नहुने बताउनुभएको छ ।
एमाले सिन्धुलीको जिल्ला कमिटीको तेस्रो बैठकलाई बैठकलाई सम्बोधन गर्नुहुँदै इन्चार्ज डा. भट्टराईले यस्तो बताउनुभएको हो ।
डा. भट्टराईले भन्नुभयो, ‘एमाले र कांग्रेसबीच बनेको गठबन्धन सरकार सफल नभए देशका कुनै पनि सरकार टिकाउ हुने छैन । यो गठबन्धन केवल सत्ता साझेदारी मात्र होइन, यो देशको राजनीतिक स्थिरता र विकासको आधारशिला हो ।’

त्यस्तै, उहाँले अहिलेको सरकारले दिगो विकास र समृद्ध नेपालको काम सुरु गरेकोले देशलाई समृद्ध बनाउन नचाहने शक्तिहरु हाबी भएको उल्लेख गर्नुभयो ।
वर्तमान राजनीतिक परिस्थितिलाई विश्लेषण गर्दै डा. भट्टराईले थप्नुभयो, ‘अहिलेको सरकारले दिगो विकास र समृद्ध नेपालको कामको सुरुवात गरेको छ । तर, देशलाई समृद्ध बनाउन नचाहने शक्तिहरू पनि सक्रिय भएका छन् । यस्ता तत्वहरूलाई निस्तेज पार्न हामी सबै एकजुट हुनुपर्छ ।’
उहाँले अहिलेको सरकारले जनाताको मन जितेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीले जनताको विश्वास जित्नु छ । यसका लागि भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन र आर्थिक विकासमा ध्यान केन्द्रित गर्नुपर्छ । हामीले गठबन्धनका साझेदारहरूसँग मिलेर काम गर्नुपर्छ ।’
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का जिल्ला उपसचिव रमेश नेपाल एमालेमा प्रवेश गर्नुभएको एमाले सिन्धुली जिल्ला कमिटी सदस्य वरुण घिमिरेले जानकारी दिनुभयो ।
बैठकमा एमालेको आगामी रणनीति र कार्ययोजना तय गर्नुका साथै स्थानीय स्तरमा पार्टी संगठन सुदृढीकरणका विषयमा पनि छलफल भएको घिमिरेले बताउनुभयो ।












प्रतिक्रिया