
काठमाडौं, २६ भदौ । पशुपतिमा ‘कोटिहोम’ आयोजना गरेर भक्तजनबाट उठाइएको करोडौं कुम्ल्याएर पोखरा पुग्नुभएका आफूलाई विजयकृष्ण मुर्ती महाराज भनेर चिनाउने विजय भण्डारीले अर्को महायज्ञ गर्ने प्रयास गर्नुभएको छ । यस क्रममा उहाँले पोखरामा आफूविरुद्ध समाचार लेखेको भन्दै एक पत्रकारलाई धम्कीसमेत दिनुभएको छ ।
गण्डकी क्षेत्रका बासिन्दालाई ठग्न पोखरामा गर्न लागेको महायज्ञको विपक्षमा समाचार लेखेको भन्दै भण्डारीले न्यूज २४ टेलिभिजन गण्डकी ब्युरो प्रमुख सुमन ढुंगानालाई व्हाट्सएपमार्फत् धम्की दिनुभएको हो ।
पत्रकार ढुंगानाकाअनुसार व्हाट्सएपमा आएको धम्कीपूर्ण म्यासेज हेर्ने बित्तिकै मेटिएको थियो । ‘पशुपतिमा कथित कोटिहोम गरेर चर्चामा आएका ठगी आरोपी विजय भण्डारी उर्फ कृष्ण मुरारी महाराजले मलाई व्हाट्सएपमार्फत धम्की दिएर तुरुन्तै म्यासेज डिलिट गरे । उनले पोखरामा गर्ने भनिएको ४५ दिने कोटिहोम र जग्गाको खोजिबारे होसियारी हुन तयारीको रिपोर्टिङ जो गरेको थिएँ र महाराज यो देशमा जनताको सरकार छ ।’ ढुंगानाले भन्नुभएको छ ।
पत्रकार ढुंगानाले भण्डारीको पृष्ठभूमि र योजनाबारे समाचार प्रसारण गरेपछि पोखरा-१७ ढुँगेसाँघु महतगौँडामा रहेको हरिहर सिद्धेश्वर मन्दिर व्यवस्थापनले जग्गा नदिने निर्णय गरेको बताइएको छ ।
पोखराको हरिहर सिद्धेश्वर मन्दिरको जग्गामा ४५ दिने महायज्ञ गर्ने योजना बनाएका भण्डारीको पृष्ठभूमि विवादास्पद रहेको छ । उहाँ ठगी मुद्दामा जेल सजाय भोगेर आएका व्यक्ति हुनुहुन्छ । भण्डारीमाथि सरकारी कागज किर्ते, ज्यान मार्ने उद्योग, लुटपाट र प्राचीन स्मारक संरक्षण ऐन २०१३ विरुद्धको कसुरका जाहेरी परेको छ ।
केहीसमयअघि भण्डारीले पशुपतिमा गर्नुभएको ४५ दिने कोटिहोम महायज्ञमा दैनिक एक करोड रुपैयाँसम्म चन्दा उठेको थियो । तर भण्डारीले पशुपति कोटिहोमको हिसाब अझै सार्वजनिक गर्नुभएको छैन् ।









प्रतिक्रिया