
काठमाडौं, २६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आगामि असोज ४ गते वृहत् भेलाको आयोजना गर्ने भएको छ ।
बुधबार पार्टी कार्यलय धुम्बाराहीमा बसेको राप्रपा नेपाल काठमाडौं जिल्ला कार्य समितिको प्रशिक्षण समिक्षा बैठकपछि पार्टीका अध्यक्ष कमल थापाले असोज चार गते वृहत् भेलाको आयोजना गर्न लागेको जानकारी दिनुभयो ।
वृहत् भेलाको माध्यमबाट पार्टीले आर्जन गरेको शक्तिको साथसाथै आगामि दिनमा पार्टीले गर्ने कार्यक्रमका बारेमा पनि स्पष्ट सन्देश दिने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले हामीले सडक कार्यक्रम गर्नुभन्दा सभा हलमा नै अझ बढी भव्यताकासाथ गर्नु उपयुक्त हुने भएकाले आउने असोज ४ गते नवदुर्गा पार्टी प्यालेसमा १ बजे भव्य वृहत् भेलाको आयोजना गर्दैछौँ । त्यो भेलामा प्रशिक्षणमा सहभागी सबैजना उपस्थित हुनुपर्ने छ । वृहत् भेलाको माध्यमबाट हामीले पार्टीले आर्जन गरेको शक्तिको साथसाथै आगामी दिनमा हामीले गर्ने कार्यक्रमका बारेमा पनि स्पष्ट सन्देश दिनेछौँ ।’
उहाँले भविष्यमा हिन्दु राष्ट्र पुनस्थापना गर्ने र पार्टीलाई देशको बलियो शक्तिको रुपमा स्थापित गर्ने लक्ष्य राखेको भन्दै त्यो लक्ष्य प्राप्तीको निमित्त प्रशिक्षण एउटा महत्वपूर्ण कोशेढुङ्गाको रुपमा रहेको विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले भविष्यमा जसरी आन्दोलन गर्ने, हिन्दु राष्ट्र पुनस्थापना गर्ने र राप्रपा नेपालललाई देशको एउटा बलियो शक्तिको रुपमा स्थापित गर्ने लक्ष्य लिएका छौँ । त्यो लक्ष्य प्राप्तीको निमित्त यो प्रशिक्षण एउटा महत्वपूर्ण कोशेढुङ्गाको रुपमा रहेको मैले पाएको छु ।’








प्रतिक्रिया