२३ असार २०८३, मंगलबार

अवैध ढुंगा निकासी रोक्न मकवानपुरगढी गाउँपालिकालाई युवा संघको ध्यानाकर्षण

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २५ भदौ । मकवानपुरगढी गाउँपालिकामा अवैध तवरले नदीजन्य पदार्थ (ढुंगा) ओसारपसार रोक्न राष्ट्रिय युवा संघ नेपाल मकवानपुरगढी गाउँपालिका कमिटीले ध्यानाकर्षण गराएको छ । गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान र प्रमुख प्रशासकीय अधिकृत नवीन गङ्तान लामालाई युवा संघले ढुंगाको अवैध निकासी रोक्न ध्यानाकर्षण गराएको हो ।

मकवानपुरगढी गाउँपालिकाको ७ नम्बर वडास्थित सुकौराबाट कर छलेर ढुंगा बाहिर निकासी भइरहेको विषयमा गाउँपालिकादेखि प्रशासनसम्मको मौनता देखिनु र दोषीलाई कारबाहीको दायरामा ल्याउन नसक्नुले कानुनी राज्यको उपहास भएको युवा संघ मकवानपुरगढीका अध्यक्ष विष्णु सिलवालले बताउनुभयो ।

युवा संघले प्राकृतिक स्रोतको स्टक प्रमाणित नगरी गैरकानुनी तवरले चोरी निकासी भएकोप्रति व्यवास्था गरिनुले राजश्व अपचलन भएको आशंका गरेको छ । २०८१ श्रावण यता मात्र कान्तिलोकपथ सडक निर्माणका लागि भन्दै टिपरमा एक हजार टिप भन्दा बढी निकासी भएको युवा संघको दाबी छ । घटनाको सत्यतथ्य छानबिन गरी राजश्व जम्मा हुनुपर्ने माग राखिएको अध्यक्ष सिलवालले बताउनुभयो ।

यसअघि गतवर्ष २०८०/८१ को अन्तिममा सामरी खोलाअन्तर्गत मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ कालिवन, गढी–४ घट्टेदमार, गढी–६ ठूलोबेसी र गढी–२ कुर्लेदमारलगायतका क्षेत्रमा माछापालनको नाममा उत्खनन गरिएको कच्चा पदार्थको हिसावकिताब सार्वजनिक नभएकोप्रति पनि युवा संघले गाउँपालिका कार्यालयको ध्यानाकर्षण गराएको छ । कच्चा पदार्थको राजश्व (आम्दानी) तत्काल सार्वजनिक गरिनुपर्ने सिलवालले बताउनुभयो ।

प्राकृतिक स्रोत तथा अन्य क्षेत्रको राजश्व संकलन बोलपत्रको माध्यमबाट संकलनको माग राख्दै संघले अमानतबाट नदीजन्य पदार्थ संकलन गर्दा हुने आर्थिक अपचलनलाई पूर्ण रुपमा निरुत्साहित गरिनुपर्ने माग राखेको छ । प्राकृतिक स्रोतसाधनको बिक्रीका नाममा जग्गाको मूल्यांकन तथा सबै खाले क्षेत्रमा भएको राजश्व वृद्धिले जनतामा ठूलो आर्थिक भार थपिएको संघको धारणा छ । करको दरलाई घटाएर जनतालाई सर्वसुलभ सेवा प्रवाह गरिनुपर्ने माग राखिएको अध्यक्ष सिलवालले बताउनुभयो ।

संघले हालसम्म आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक नगरेकोले तुरुन्त सार्वजनिक गर्न गाउँपालिकासँग माग गरेको छ । युवा संघले उठाएको माग सम्बोधनका लागि ७ दिनको अल्टिमेटम दिएको सिलवालले बताउनुभयो । माग सम्बोधन नभए गाउँपालिका कार्यालयमा तालाबन्दी गर्नुपर्ने बाध्यता सिर्जना नगर्न ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो ।

ज्ञापन पत्र बुझ्दै गाउँपालिका अध्यक्ष स्याङ्तानले युवा संघले उठाएका विषय र आफ्नो चिन्ता र चासो साझा रहेको प्रतिक्रिया दिनुभयो । उहाँले नदीजन्य पदार्थको अवैध ओसारपसार र चोरी निकासी नियन्त्रण गरेरै छाड्ने बताउँदै यसअघि प्रयास गर्दा धम्कीको सामना गर्नुपरेको बताउनुभयो । नदीजन्य पदार्थको अवैध ओसारपसारमा एउटा ठूलै माफिया सक्रिय रहेको उहाँले बताउनुभयो ।

‘तपाईंहरुको चिन्ता र चासोलाई सम्बोधन हुनेगरी म काम गर्छु । जस्तोसुकै परिस्थति आएता पनि यसको नियन्त्रण गरेरै छाड्छु ।’ उहाँले भन्नुभयो ।