
काठमाडौं, २५ भदौ । नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले उपसभामुख इन्दिरा रानालाई राजीनामा दिन सुझाव दिनुभएको छ ।
प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले प्रणाली, व्यक्तिको आचरण वा पदिय दायित्वमा रहेर गर्नुपर्ने काममा प्रश्न उठे पद छोड्नुपर्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘उपसभामुखज्यूलाई सुझाव छ, यत्रो प्रश्न उठेको छ भने उहाँले आफ्नो पदबाट मार्गप्रशस्त गरे के बिग्रन्छ ?, प्रश्न उठ्नु र जवाफदेहिता चाहिन्छ भन्नु लोकतन्त्रको हत्य होइन । लोकतन्त्रलाई थप बलियो बनाउन मद्दत पुग्छ । सांसदहरुबारे प्रश्न उठ्यो भने के गर्ने भन्ने कानुन नियम बनाउँ न, व्यक्तिगत रुपमा निरन्तर पीडित हुनुभन्दा खुला किताब र सबैको निम्ति पारदर्शिता प्रदर्शन गर्न मार्गप्रशस्त गरे हुन्छ ।’
विगतमा आफूमाथि प्रश्न उठेपछि मन्त्रीबाट राजीनामा दिएको स्मरण गर्दै उहाँले दोषी हो वा होइन कानुन वा कुनै छानबिन भए त्यसले देखाउने बताउनुभयो ।
संसदको बैठकको सुरुमै रास्वपाले विशेष समय लिएर संवैधानिक परिषदबाट बहुमत पुर्याउन उपसभामुखलाई हटाउन खोजिएको भन्दै आपत्ति जनाएपछि एमाले सांसद बास्कोटाले लोकतन्त्रमा सबैमाथि प्रश्न उठाउन पाउने बताउनुभयो ।








प्रतिक्रिया