
काठमाडौं, २५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एसिडको प्रहार भएर उपचार पाउने जटिलता अझै पनि कायम रहेको बताउनुभएको छ ।
मंगलबार चौथो एसिड आक्रमणविरुद्धको अभियान दिवसका रुपमा केही पीडित र सरोकारवाला निकायसँग छलफल गर्दै सभापति लामिछानेले कानूनी उपचारको सुनिश्चितता गर्नकै लागि रास्वपाले एसिड पीडित विन्दवासिनी कंसाकारलाई सांसद बनाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘संसारका संसदहरुमा के छ थाहा छैन, तर संसारकै पहिलो दुर्लभ प्रतिनिधि सभाको सांसदको रुपमा रास्वपाको प्रतिनिधित्व गर्दै विन्दवासिनी कंसाकार आउनु भएको छ । यो सामान्य कुरा मात्र होइन, एसिडको जलन वा पीडा अन्त्य गर्नका निम्ती कानूनी रुपमा उपचारको जटिलता अझै कायम नै छन् । तर कानूनी उपचारको सुनिश्चितता गर्न एक एसिड आक्रमणबाट पीडित स्वयम कानून बनाउने ठाउँमा पुगिसक्दा पनि जलन विधेयकलाई अगाडि बढाएर न्याय दिने काम गर्न सकेका छैनौँ । यो धिक्कार हुन्छ हामी सबैको लागि ।’ साथै, उहाँले देशले नै गर्व गर्ने ठाउँमा पुग्नका लगि धेरै काम गर्नुपर्ने बताउनुभयो । उहाँले एसिड पीडितहरुलाई न्याय दिनको लागि नै जलन विधेयक दर्ता गरेकोसमेत बताउनुभयो ।
उहाँले एसिड पीडितको न्यायको लागि आफू प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘केही समय धैर्यतापूर्वक साथमा रहनुहोला । एसिड पीडितले अनुभव गरेका तिता इतिहासहरुलाई भोलिका दिनमा कसैले गर्न नपाउन भन्नकै लागि जलनबाट पीडा भोक्नु परेका सबैको हक र अधिकार दिलाउनको लागि हामी लडिरहेका छौँ । र एसिड पीडितको न्यायको लागि प्रतिवद्ध छौँ ।’








प्रतिक्रिया