
काठमाडौं, २४ भदौ । नेकपा (एमाले)का सांसद रघुजी पन्तले काठमाडौं उपत्यकाका नदी तटीय क्षेत्रसम्बन्धी सर्वोच्च अदालतको फैसलाले ठूलो अन्योल पैदा गरेको बताउनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा उहाँले फैसलामाथि पुनःविचार गरेर समयानुकूल बनाउन सरकार तत्काल ‘भ्याकेट’मा जानुपर्नेमा जोड दिनुभयो ।
‘पुनरावलोकनका लागि सरकारले तत्काल पाइला चाल्नुपर्छ’, सांसद पन्तले भन्नुभयो, ‘फैसला गर्दा बागमती संस्कृतिप्रति ध्यान नगएको देखिन्छ काठमाडौं, ललितपुर र भक्तपुरका जनताको मनोभावना बुझेर अदालतले आफ्नो फैसला पुनरावलोकन गर्नुपर्छ ।’
फैसला कार्यान्वयन गर्ने हो भने जलविनायक, गोकर्णेश्वरलगायत धेरै मठमन्दिर नदी किनारामा छन्, तिनलाई के गर्ने ? भन्ने प्रश्न उठेको जनाउँदै उहाँले भन्नुभयो, ‘अहिलेको प्रावधानले आर्यघाट कहाँ पर्छ, पशुपति र गुह्येश्वरी मन्दिर बागमतीबाट २० मिटर पनि छैन । थप २० मिटर लिने हो भने मठमन्दिरको अस्तित्व के हुन्छ ?’ उपत्कायका नदीको दुर्दशा भएको तथ्यप्रति आफू पूर्ण सहमत भएको जनाउँदै उहाँले नदी संरक्षणमा फरक ढङ्गबाट सोच्न आग्रह गर्नुभयो ।








प्रतिक्रिया