
जुम्ला, २४ भदौ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीले बढ्दै गएको राजनीतिक अस्थिरताको अन्त्य गर्नका लागि देशका ठूला पार्टी नेकपा (एमाले) र नेपाली कांग्रेसको गठबन्धन बनेको बताउनुभएको छ ।
एमाले जिल्ला कमिटी जुम्लाले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै इन्चार्ज बोगटीले माओवादी केन्द्रले राजनीतिक अस्थितरतालाई बढवा दिन भूमिका खेलेकै कारण कांग्रेस र एमालेको सत्ता समीकरण निर्माण भएको बताउनुभयो ।

‘एमालेले वामपन्थी एकताका लागि २०७२ सालदेखि माओवादीसँगको सहकार्य सुरु गरेरै यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई प्रधानमन्त्रीका रुपमा अघि सारिएको हो ।’ इन्चार्ज बोगटीले भन्नुभयो, ‘प्रचण्डजीले सत्तामा भएको वाम गठबन्दनलाई तोड्ने मात्रै होइन, नेपाली वाम आन्दोलनलाईसमेत समाप्त पार्ने खेलमा लागेकै कारण देशका ठूला दुई राजनीतिक दल एमाले र कांग्रेसबीच सत्ता समीकरण गर्नु परेको हो ।’
प्रशिक्षण कार्यक्रममा पार्टीको नीति विचार र सिद्वान्त, वर्तमान समसामयिक राजनीति परिवेश र सवाल विषयमा प्रशिक्षण दिँदै उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार निर्माण भए पश्चात नागरिकमा आशा पलाएको बताउनुभयो ।

प्रशिक्षण कार्यक्रममा नेता, कार्यकर्ताहरुको आचरण र स्वभाव, पार्टी र सरकारबीचको सम्बन्ध विषयमा एमाले कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाह र वैचारिक तथा सामाजिक नेतृत्वमा पार्टी सदस्यको भूमिका तथा क्षमातको विकास जुम्ला जिल्ला इन्चार्ज तथा एमाले केन्द्रीय सदस्य रतननाथ योगीले प्रशिक्षण दिनुभएको जिल्ला कमिटी अध्यक्ष शान्तिलाल महतले जानकारी दिनुभयो ।
एमाले प्रदेश कमिटी सदस्य, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य, स्थानीय कमिटीका पदाधिकारी तथा सदस्य, जनवर्गीय संघसंगठनका जिल्ला प्रदेश र केन्द्रका नेतासहित अगुवा कार्यकर्ताहरुको सहभागितामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको एमाले जुम्लाले जनाएको छ ।










प्रतिक्रिया