
काठमाडौं, २४ भदौ । दुवै मिर्गौला फेल भई काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचाररत अनुषा अधिकारीको उपचारमा अधिकारी बन्धु समाजले सहयोग गरेको छ । उहाँको सहयोगार्थ आइतबार कुइभीर अधिकारी बन्धु समाजले आर्थिक सहयोग गरेको हो ।
ओखलढुङ्गाको साबिक कुइभीरमा बस्दै आएका कुइभीर अधिकारी बन्धु समाजले अधिकारीको उपचार सहयोगार्थ दुई लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । समाजका अध्यक्ष शम्भु अधिकारीकाअनुसार इटहरीस्थित राष्ट्रिय जनसहयोग कलेजमा स्नातकोत्तर अध्ययन गर्दै आउनुभएकी अधिकारीको दुवै मिर्गौला फेल भएपछि तीन महिना अघिदेखि टिचिङ हस्पिटल काठमाडौंमा उपचाररत रहनुभएको छ ।
उपचार गर्न आर्थिक अभाव भएर समस्या भएपछि समाजले आर्थिक सहयोग गरेको बताइएको छ । आर्थिक सहयोग बापतको रकम मिर्गौला पीडित अधिकारीका बुबा लीलाराज अधिकारीलाई हस्तान्तरण गरिएको थियो । त्यसक्रममा कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष शान्तिबहादुर अधिकारीले प्रतिष्ठानको केन्द्रीय समितिबाटसमेत आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
पीडित अनुषाको मिर्गौला फेर्नका लागि २५ लाख बढी रकम खर्च हुने जनाइएको छ ।












प्रतिक्रिया