
काठमाडौं, २४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले समयको माग र जनअपेक्षालाई सम्बोधन गर्नेगरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विद्यमान कानुनमा संशोधन विधेयक ल्याउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याल, दुवै मन्त्रालयका सचिवहरु र दुवै संगठनका प्रमुखहरुसहित आइतबार साँझ भएको छलफलमा प्रधानमन्त्री ओलीले ती कानुनलाई समयानुकूल र वस्तुनिष्ट बनाउनुपर्ने बताउनुभएको हो ।

उहाँले मुलुकमा शान्ति सुरक्षा र सुशासन कायम गर्न तथा संगठनभित्र सानो तहदेखि माथिल्लो तहसम्मको सुविधासमेतलाई ध्यान दिएर प्रस्ताव ल्याउन आग्रह गर्नुभयो । ती दुवै कानुनलाई संशोधन गर्ने विधेयकको मस्यौदा रायका लागि गृह मन्त्रालयले अर्थ मन्त्रालयमा पेश गरेको सन्दर्भमा प्रधानमन्त्री ओलीले आर्थिक र प्रशासनिक पक्षलाई अध्ययन गरेर छिटो विधेयक अघि बढाउन अर्थ मन्त्रालयलाई निर्देश गर्नुभयो । ती दुवै विधेयक संसद्मा पेश गर्ने विषय सरकारको सय दिनभित्रको प्राथमिकतामा परेको छ ।
छलफलमा अर्थमन्त्री पौडेलले विधेयकलाई समग्ररुपमा अध्ययन गरेर छिटो निष्कर्ष निकालिने बताउनुभयो भने गृहमन्त्री लेखकले प्रस्तावित विधेयक ल्याउँदा प्रहरी संगठनमा ऊर्जा थपिनुका साथै मुलुकको आर्थिक दायित्व बचत हुने स्पष्ट गर्नुभयो ।












प्रतिक्रिया