१५ असार २०८३, सोमबार

सेवा खरिदमा डिजिटल भुक्तानी गर्ने उपभोक्तालाई नगद प्रोत्साहन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । आन्तरिक राजस्व विभागले विद्युतीय भुक्तानी प्रोत्साहन गर्ने निर्णय गरेको छ । विभागले हालै एक सूचना जारी गर्दै सेवा खरिदमा विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्तालाई नगद प्रोत्साहन दिने जानकारी गराएको हो ।

राजस्व विभागकाअनुसार उपभोक्ताले विद्युतीय माध्यमबाट भुक्तानी गरेमा तिरेको मूल्य अभिवृद्धि करको दश प्रतिशत रकम फिर्ता पाउनेछन् । यो रकम सिधै उपभोक्ताको बैंक खातामा जम्मा हुनेछ । विभागले यस निर्णयलाई आम उपभोक्ता, व्यवसायी तथा सम्बन्धित सबै पक्षलाई कार्यान्वयन गर्न आग्रह गरेको छ ।

यो सुविधा विशेष गरी तीन प्रकारका सेवाहरूमा लागू हुनेछ । यी सेवाहरूमा मदिरा पिउने केन्द्र (बार)बाट प्रदान गरिने सेवा, चमेनागृह वा रेस्टुरेन्टबाट प्रदान हुने सेवा र सबै प्रकारका होटल, मोटल, लज तथा गेस्टहाउस व्यवसायहरूबाट प्रदान गरिने सेवाहरू समावेश छन् ।

विभागले भदौ २१ गते मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २५ को उपदफा (१) को खण्ड (१ख) मा “कुनै उपभोक्ताले विभागले सूचना प्रकाशन गरी निर्धारण गरेको वस्तु तथा सेवा खरिद गर्दा त्यस्तो खरिदको मूल्य प्रचलित कानुन बमोजिम विद्युतीय माध्यमबाट भुक्तानी गरेमा निजलाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको दश प्रतिशत रकम विभागले तोकेको प्रक्रिया बमोजिम निजको बैंक खातामा फिर्ता गरिनेछ” भनी व्यवस्था गरे बमोजिम निर्णय गरेको थियो ।