२४ जेष्ठ २०८३, आइतबार

एमाले कोशी प्रदेश जनसंगठन कार्यशाला: एकवर्षे कार्ययोजना तयार, १० प्रतिशत सदस्य वृद्धि गर्ने

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनकुटा, २४ भदौ । नेकपा (एमाले) कोशी प्रदेश जनसंगठन समन्वय संयन्त्रको जनसंगठन व्यवस्थापन तथा परिचालनसम्बन्धी प्रदेशस्तरीय कार्यशाला धनकुटाको नाम्जेमा सम्पन्न भएको छ । कार्यशालाले कोशी प्रदेशमा रहेका मतदाता संख्याको न्यूनतम १० प्रतिशत पार्टी सदस्यता वृद्धि गर्नेलगायतका विभिन्न महत्वपूर्ण निर्णय गरेको छ ।

एकदिने कार्यशालामा एमालेका २३ वटै जनसंगठनहरुका प्रदेश अध्यक्षहरु, पार्टी प्रदेश कमिटीले तोकेका जनसंगठनका इन्चार्जहरु, जिल्ला जनसंगठन समन्वय संयन्त्रका प्रमुख र इन्चार्जहरु सहभागी हुनुहुन्थ्यो । कार्यशालाले आगामी एक वर्षका लागि विस्तृत कार्ययोजनासमेत तयार पारेको छ ।

एमाले स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यशालाले जनसंगठनहरुको सुदृढीकरण र विस्तार, राजनीतिक तथा वैचारिक काम, आर्थिक अनुशासन र व्यवस्थापन, जनसरोकारका विषय र पेशागत समस्याहरुमा पार्टी नेतृत्व परिचालनलगायतका विषयमा योजनाहरु तयार पारेको छ ।

कार्यशालाले आगामी २०८१ मंसिर मसान्तसम्म २३ वटै जनसंगठनको पालिका स्तरसम्म संगठन निर्माण गर्ने र जनसंगठनलाई गाउँगाउँमा पुर्‍याउने लक्ष्य राखेको छ ।

यसैगरी, सबै जनसंगठनका घटक संगठनहरुलाई २०८१ मंसिरसम्म भेला, प्रशिक्षण तथा अधिवेशनहरु सम्पन्न गर्ने योजना बनाइएको छ । सबै जनसंगठनहरुले आगामी असोज पहिलो हप्तासम्म प्रदेश तहका बैठक तथा भेलाहरु सम्पन्न गर्ने, पुस र माघ महिनामा टोलसम्म संगठन निर्माण गरिसक्ने योजना पनि बनाइएको छ ।

त्यस्तै, संगठनलाई आ-आफ्नो वर्ग र समुदायको माग र मुद्दामा केन्द्रित गर्न प्रत्येक जनसंगठनले प्रदेश तहमा न्यूनतम एउटा र प्रत्येक पालिका तहसम्म बहस पैरवी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ ।

त्यसैगरी, २०८१ साल भित्रमा एक जनसंगठन एक रचनात्मक कार्यक्रम सम्पन्न गर्ने र मंसिरसम्म जिल्ला जनसंगठन समन्वय संयन्त्रको आयोजनामा पालिका तहमा श्रमदान कार्यक्रम गर्ने योजना पनि बनाइएको छ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राई, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, उपाध्यक्ष टिकाराम चेम्जोङ, सचिव राजकुमार भण्डारी, उपसचिव देवान राई र जलवर्षा राजवंशीलगायतका नेताहरु सहभागी हुनुहुन्थो । कार्यक्रम जनसंगठन समन्वय संयन्त्र कोशीका प्रमुख बाबुराम थापा अध्यक्षताको अध्यक्षतामा सम्पन्न भएको थियो ।