३ असार २०८३, बुधबार

खोटाङ र उदयपुर जोड्ने सुनकोसीको बङ्सिलाघाटमा अस्थायी बेलिब्रिज बन्ने

5.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-अन्जनी कुमार अधिकारी, उदयपुर २३ भदौ । उदयपुर र खोटाङ जिल्लालाई जोड्ने सुनकोसी नदीको बङ्सिलाघाटमा अस्थायी बेलिब्रिज निर्माण हुनेभएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उदयपुर र खोटाङ जिल्लालाई जोड्ने सुनकोसी नदीको बङ्सिलाघाटमा अस्थायी बेलिब्रिज राख्ने निर्णय गरेपछि यस क्षेत्रमा हिउँदमा जनतालाई वारिपारि गर्नका साथै खोटाङ जिल्लाका जनतालाई सहज प्रदेश राजधानी विराटनगर र संघीय राजधानीसँग जोड्न सहज हुने भएको छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिकाको शिवाई–बेल्टार–वीरेन्द्रबजार–छुइला–बङ्सिलाघाट–चिसापानी–दिक्तेल सडकखण्डमा पर्ने बङ्सिलाघाटमा अस्थायी बेलिब्रिज बन्ने भएपछि स्थानीयमा खुशी छाएको छ ।

नेकपा (एमाले)का नेता तथा खोटाङ जिल्लाका पूर्वसांसद विशाल भट्टराईको प्रयासमा अस्थायी बेलिब्रिज निर्माण हुनेभएपछि आइतबार प्रत्यक्ष लाभ लिने तीन पालिका चौदण्डीगढी नगरपालिका, जन्तेढुङ्गा र वराहपोखरी गाउँपालिका जनप्रतिनिधिबीच छलफल भएको छ । यसअघि खोटाङ र पूर्वी सहर जोड्ने सुनकोसी नदीकै फोक्सिङटारमा राखिएको अस्थायी बेलिब्रिज अहिले प्रयोग नभई बसेको र सोही अस्थाई बेलिब्रिज उदयपुर र खोटाङ जिल्लालाई जोड्ने सुनकोसी नदीको बङ्सिलाघाटमा राख्ने तयारी सुरु गरिएको हो ।

फोक्सिङटारमा रहेको बेलिब्रिज बङ्सिलाघाटमा लगाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अनुमति दिएपछि प्रत्यक्ष लाभ लिने तीन पालिकाका जनप्रतिनिधिले ब्रिज जडानका विषयमा आइतबार आवश्यक छलफल र तत्काल बेलिब्रिजका समान फोक्सिङटारबाट बङ्सिलाघाट ल्याउने अनुमति मन्त्रालयसँग माग गर्ने निर्णय गरेको छ । यो वर्ष बङ्सिलाघाटमा अस्थायी बेलिब्रिज जडान गर्न लाग्ने आवश्यक रकम संघीय सरकारले विनियोजन नगरेको र रकम तीन पालिकाले व्यहोरेर भएपनि आगामी कार्तिकपछि नदीमा पानीको बहाव कम भएपछि बङ्सिलाघाटमा अस्थायी बेलिब्रिज जडान गर्नेगरी आइतबार एमाले नेता विशाल भट्टराई, चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामा, जन्तेढुङ्गा गाउँपालिकाका अध्यक्ष करुणा राई, वराहपोखरी गाउँपालिकाका उपाध्यक्ष भुवल राई, तीनै पालिकाका वडा अध्यक्षहरु, विभिन्न राजनीतिक पार्टीका नेता, स्थानीयहरुबीच छलफल भएको हो ।

छलफलले खोटाङ जिल्लाका जनताले खेप्नु परेको सास्तीलाई सबै तह, सबै पक्षले मूल्यांकन गर्नुपर्ने भन्दै तत्काललाई अस्थायी बेलिब्रिज बाटै भएपनि जनतालाई राहत दिनुपर्ने निस्कर्ष निकालेको छ ।

वराहपोखरी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दुर्गाबहादुर राईले बेल्टार बजारमा एक सय पचासमा पाउने चिसो खोटाङ पुग्दा आफूहरुका जनताले तीन सयमा किन्नु परेको पीडा कसले बुझ्ने भन्दै कुनै पनि बहानाबाजी नगर्न र अस्थायी भएपनि ब्रिज लगाउनु सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा उपस्थित स्थानीयले आफूहरु सुनकोशीमा पुल नहुँदा निकै ठूलो मार्कामा परेकोले गर्दा अस्थायी बेलिब्रिज बन्ने कुराले मात्र पनि आफुहरुलाई खुशी दिएको बताए ।

आइतबारको बैठकले बङ्सिलाघाटमा अस्थायी बेलिब्रिज लगाउन आवश्यक पर्ने आर्थिक जोहोको लागि अर्को बैठक बस्ने निर्णय गरेको छ । अस्थायी बेलिब्रिज जोड्न र निकाल्न अन्दाजी सवा करोड रुपैयाँ खर्च हुने बताइएको छ । त्यस रकमको तत्काल सुनिश्चिता गरेर टेन्डर आव्हान गर्ने चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले जानकारी दिनुभयो ।

हाल खोटाङ र उदयपुर जोड्ने सुनकोसी नदीको बङ्सिलाघाटमा २०७५ मा एक करोड ४३ लाख लागतमा निर्माण गरिएको २३५ मिटर लम्बाइको झोलुङ्गे पुल रहेको छ भने करिब १९ करोड १८ लाख ४१ हजार चार सय रुपैयाँको लागतमा ३३ महिनामा काम सम्पन्न गर्नेगरी मोटरेवल पक्की पुल निर्माणका लागि २०७९ साल मंसिर १ गते कालिका–भेडान्सी जेभीले सम्झौता गरी कामको जिम्मा लिएको थियो । यद्यपि, पुल निर्माणको कार्यले अहिलेसम्म २५ प्रतिशतसमेत काम सम्पन्न गर्न सकेको छैन ।