
झापा, २३ भदौ । झापाको दमकमा गोठमा बाँधेको गाई चोरेर काट्ने चार जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाले आज दमकमा पत्रकार सम्मेलन गरेर गाई काटेको अभियोगमा पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरुमा तीन जना भुटानी शरणार्थी शिविरमा बसोबास गर्ने तथा एक जना स्थानीय रहेका छन् ।
प्रहरीकाअनुसार दमक–२ को बेलडाँगी भुटानी शरणार्थी शिविर–२ को छाप्रो न ३३२ को ४४ वर्षका प्रेमबहादुर विष्ट, दमक–३ मा रहेको बेलडाँगी शिविर–३ को छाप्रो न ए३–२०८ बस्ने ३८ वर्षका खगेन्द्र दुलाल, सोही स्थानको छाप्रो न ए२–२०८ बस्ने ३२ वर्षका विधान थापा र दमक नगरपालिका–४ बस्ने ४५ वर्षकी गिता श्रेष्ठ पक्राउ परेका छन् ।
पक्राउ परेका मध्ये दुलालले पटक–पटक जवरजस्ती करणी तथा पशुपंक्षीसम्बन्धी अपराधमा जेल सजाय पूरा गरेर रिहा भएको पाइएको प्रहरीले जनाएको छ ।
भदौ १८ गते रातको समयमा उनीहरुले दमक नगरपालिका–१ मा गोठमा बाँधिरहेको २ महिनाको गर्भिणी रहेको गाई चोरी गरी गोठदेखि १०० मिटर उत्तरपटीको प्लटिङमा लगेर काटेका थिए । खुट्टा तथा गर्धनको मासु, रगत लगेका उनीहरुले शरीरको अन्य भाग घटनास्थलमा नै छोडेका थिए ।
गर्भिणी गाई काटेको घटना बाहिरिएपछि घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरीमाथि चर्काे दवाव परेको थियो ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्न प्रशासनसँग माग गर्नुभएको थियो ।
प्रहरीले गरेको अनुसंधानका क्रममा शुक्रबार उनीहरुलाई पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट बन्चरो १ थान, खुकुरी एक थान र मासु बोक्न प्रयोग भएको झोला एक थान बरामद गरेको पनि प्रहरीले जनाएको छ ।









प्रतिक्रिया