२९ असार २०८३, सोमबार

बहुआयमिक चुनौतीलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समन्वय र सहकार्य आवश्यक छ : गृहमन्त्री

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ भदौ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध, आतंकवादलगायतका बहुआयमिक चुनौती सामना गर्न कानुन कार्यान्वयन गर्ने निकायबीच समन्वय र अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित इन्टरपोल स्थापनाको शताब्दी दिवसका अवसरमा गृहमन्त्री लेखकले अपराधिक क्रियाकलापलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय प्रहरी सहयोगको विशेष महत्व हुने बताउनुभयो । ‘यस्ता अपराधिक क्रियाकलापलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न अन्तर्राष्ट्रियस्तरमा असल अभ्यास, विशेषज्ञता एवम् आपसी सूचना आदानप्रदान गर्न आवश्यक छ । साथै समाजलाई शान्त, सुरक्षित एवम् भयरहित बनाउन सबैको संयुक्त प्रयास हुनुपर्छ ।’ उहाँले भन्नुभयो ।

कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीले कानुन कार्यान्वयन गर्दै शान्ति सुव्यवस्था कायम राख्न निर्वाह गरेको भूमिका प्रंशसनीय रहेको बताउनुभयो । यस कार्यक्रमले कानुन कार्यान्वयन गर्ने निकायबीच समन्वय र सहयोगका लागि संयुक्त प्रतिबद्धता प्रतिबिम्बित गरेको धारणा राख्नुभयो । ‘नेपाल प्रहरीले अन्तर्राष्ट्रियस्तरमा गरेको समन्वय र सहयोग उल्लेखनीयर प्रशंसनीय रहेको छ । अपराधलगायतका चुनौती सामना गर्न आगामी दिनमा सुरक्षा निकायलाई थप मजबुद बनाउँदै लैजानेमा गृहमन्त्रालय क्रियाशील छ ।’ उहाँले अगाडि भन्नुभयो ।

यस्तै, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालले संगठित अपराध, साइबर अपराध, आतंकवादलगायत गतिविधि नियन्त्रण गर्न र शान्ति सुव्यवस्था बलियो बनाउन कानुन कार्यान्वयन गर्ने निकायबीच संयुक्त प्रयास आवश्यक रहेको बताउनुभयो ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले कुनै पनि प्रकृतिका आपराधिक क्रियाकलापमा संलग्नलाई कानुनी दायरामा ल्याउन अन्तर्राष्ट्रिय सहयोग र समन्वय आवश्यक रहेको बताउनुभयो । उहाँले कानुन कार्यान्वयन गर्ने निकायबीच संयुक्त सहकार्य र आवश्यक सहयोग आदानप्रदान गर्दै जटिल अपराध तथा अन्य सुरक्षा चुनौतीलाई प्रभावकारी रूपमा सामना गर्न सकिने बताउनुभयो ।