२ असार २०८३, मंगलबार

एमालेसँगको गठबन्धन रहर नभई बाध्यता हो : मन्त्री पाण्डे

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री बद्रीप्रसाद पाण्डेले नेकपा एमालेसँगको गठबन्धन रहर नभई बाध्यता भएको बताउनुभएको छ ।

शनिबार सूर्यप्रसाद उपाध्यायको चालिसौं स्मृति दिवसका अवसरमा ‘नेपाली कांग्रेसका प्रमुख संस्थापकको वास्तविक पहिचान र यथोचित सम्मान’ विषयक विचार गोष्ठी कार्यक्रममा उहाँले राजनीतिक अस्थिरताबाट मुलुकलाई मुक्त गर्नको लागि ८४ सम्म एमालेसँगको गठबन्धनलाई लिएर जाने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘अहिले कम्युनिष्टसँगको मेलमिलाप र सहकार्यको नीति रहर होइन बाध्यता हो । हामी होसियार हुनुपर्ने कुरा भनेको हाम्रो मौलिकता जोगाउने विषयमा हो । राजनीतिक स्थिरता जरुरी भयो, माओवादी अध्यक्षले जुन राजनीतिक अस्थिरताको भूमिका निर्वाह गर्नुभयो, त्यसबाट मुलुकलाई मुक्त गर्नको लागि ८४ सम्म एमालेसँगको गठबन्धनलाई लिएर जान्छौँ । ८४ मा पुगेपछि हाम्रो मूल प्रतिस्पर्धी एमाले नै हो ।’

यस्तै, उहाँले इतिहासका कुनै पनि कालखण्डमा सूर्यप्रसाद उपाध्याय नछुटेको भन्दै उहाँले अन्य नेताहरु सरह सम्मान पाउनु पर्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘के कारणले इतिहासको कुन त्यस्तो कालखण्ड, मोड र घटना हो, जहाँबाट सूर्यप्रसाद उपाध्याय छुट्नु भयो, अरु नेताहरु भने शीरमा राख्न मिल्नेगरी रहनु भयो भन्ने कुरा पनि एउटा गम्भीर समीक्षा हो ।’ सूर्यप्रसाद उपाध्याय दानी र नेतृत्व गर्न सक्ने क्षमता भएको व्यक्ति भएको भन्दै नेपालको राजनीतिमा उहाँलाई एउटा ज्ञानी व्यक्तित्वको रुपमा चिन्ने गरेको पनि उहाँको भनाइ छ ।