
काठमाडौं, २२ भदौ । विपद्बारे सूचना आदान प्रदान गर्न सकिने नयाँ प्रविधिको परीक्षण धादिङका तीन स्थानीय तहमा सुरु गरिएको छ । धादिङको निलकण्ठ नगरपालिका, बैरेनी र बेनीघाट रोराङ्ग गाउँपालिकामा थाइल्याण्डमा रहेको एसियन इन्स्टिच्यूट अफ टेक्नोलोजी (एआईटी) विश्वविद्यालयका प्राध्यापक डा. इन्द्रजीत पलले प्रतिपादन गर्नुभएको विपद्को सूचना आदान प्रदान गर्ने क्रिस्टा एपको परीक्षण सुरु गरिएको हो ।
विपद् जोखिम न्यूनीकरण सञ्चार समाजले काठमाडौमा आयोजना गरेको कार्यक्रममा त्यस प्रविधि लागू गर्ने परियोजनाकी कार्यक्रम अधिकृत युरिसा उपाध्यायले विपद्बाट हुने क्षति न्यूनीकरण गर्न आफूहरुले लागू गर्न लागेको प्रविधिले ठूलो सहयोग गर्ने दाबी गर्नुभयो ।
क्रिस्टा एपको प्रयोग गरेर विपद्को सूचना जुनसुकै व्यक्तिले सम्वन्धीत निकायमा दिन सक्ने र सम्बन्धीत निकायले त्यसैका आधारमा प्रतिकार्य वा उद्धारका कार्य प्रभावकारी रुपमा सम्पादन गर्नसक्ने उहाँको भनाइ छ ।
उहाँकाअनुसार यो प्रविधिको प्रयोग गर्न सम्बन्धित निकाय (स्थानीय प्रहरी कार्यालय वा पालिकाको कार्यालय) मा सामान्य सूचना प्रणाली जडान गरिन्छ । त्यसपछि सम्बन्धीत क्षेत्रका बासिन्दालाई एप डाउनलोड गर्न लगाइन्छ । त्यसपछि सम्बन्धीत क्षेत्रमा कुनैपनि विपद्का घटनाको संकेत, सूचना, जानकारी केही भएमा थाहा पाउनेले तत्काल फोटो वा भिडियो वा अडियो वा अक्षरमा एपमार्फत् जानकारी गराउनसक्छ । थाहा पाउने व्यक्तिले ती विवरणहरु पठाउने बित्तिकै उद्धार टोली रहेको ठाउँमा आपत्कालीन संकेत जान्छ । त्यही सूचना, संकेत, फोटो, भिडियो, अडियोका आधारमा उद्धार सामग्रीहरुसहित उद्धार टोली तत्काल घटनास्थलमा पुग्न सक्छ । फोटो वा भिडियोमा सूचना तथा जानकारी दिँदा घटनाको अवस्था र आवश्यक सामग्रीहरु के के चाहिन्छ भन्ने एकिन गर्न सजिलो हुने भएकाले पनि यसको प्रभावकारिता हुने देखिएको छ ।
यो प्रविधिको प्रयोग गर्दा स्थानीय बासिन्दा वा प्रत्यक्षदर्शीहरुले विवरण पठाउन सजिलो हुने, प्राप्तकर्तालाई घटनाको वस्तुस्थिति बढी थाहा हुने, विवरणहरु विश्वसनीय हुने, विवरणहरुको परीक्षण गर्न सजिलो हुने, सुचनादाताले पठाएको फोटो वा भिडियोका आधारमा जिपिएसमार्फत घटनास्थल पनि सजिलै एकिनहुने, घटनास्थलको फोटो भिडियोका आधारमा उद्धार सामग्रीहरुको आवश्यकता पहिचान गर्न सजिलो हुने अन्तरक्रियामा सहभागी पत्रकार सुरेन्द्र पाण्डेले अनुभव सुनाउनुभयो ।
यसले सूचना आदान प्रदानलाई प्रभावकारी बनाउनुका साथै तत्काल उद्धार कार्यमा जान पनि मार्गदर्शन गर्ने अर्का पत्रकार जीवन भण्डारीको बुझाई छ । उद्धार कार्यमा चाँडो जान र उद्धार कार्यलाई प्रभावकारी बनाउन मार्गदशन गर्ने भएकाले यसबाट क्षती न्यूनीकरणमा पनि ठूलो सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । यो प्रविधिबाट कुन कुन ठाउँमा विपद्का घटना भएका छन् भनेर हेर्न मिल्ने र त्यही अनुसार आफूले सतर्कता अपनाउन सकिने भएकाले पनि यो निकै उपयोगी हुने उहाँको ठहर छ ।
कार्यक्रममा पत्रकारहरु यम विरही, टिएन घिमिरे, नवराज पाण्डे, गोपालजंग थापा, महेश गौतम, भूवन शर्मा सन्देश अर्याल लगायतले प्रविधि निकै उपयोगी र प्रभावकारी हुने देखिएकाले देशभरीका सबै पालिकाहरुमा लागू गर्न सुझाव दिनुभएको थियो । उहाँहरुले यस प्रविधिलाई सरकारी निकायले नै स्वामित्व लिएर लागू गराउनु पर्नेमा पनि जोड दिनुभएको थियो ।
विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले लामो अनुसन्धानपछि तयार पारेको क्रिस्टा प्रविधिलाई जनधनको क्षती न्यूनीकरण गर्न सहयोगी हुने मुल्यांकनसहित विश्व बैंकलेसमेत पुरस्कृत गरेको छ ।








प्रतिक्रिया