
पर्सा, २२ भदौ । वीरगञ्जमा गणेशको पूजा आराधानासहित गणेश चतुर्थी महोत्सव सुरु भएको छ । भाद्र शुक्ल चतुर्थीदेखि भाद्रशुक्ल अष्टमीसम्म गणेशको पूजाआराधाना गरेर गणेश चतुर्थी महोत्सव मनाइँदैछ ।
जय गणेश झन्कार मण्डल परिवारका उपाध्यक्ष राकेशकुमार साहले शनिबारदेखि बुधबारसम्म भगवान गणेशको पूजाआराधाना गरेर गणेश चतुर्थी मनाउन लागेको बताउनुभयो ।
‘आज विशेष पूजाआराधाना गरेर भगवान् गणेशको जन्मदिनको सुरुवात गर्दैछौँ’, उहाँले भन्नुभयो, ‘हामीले भगवान गणेशको असाध्यै प्रिय प्रसाद एक सय ५१ किलोग्राम लड्डुसहित पूजाआराधाना गर्दैछौँ । यहाँ हजारौँ भक्तजनहरुको उपस्थिति रहने अपेक्षा रहेको छ ।’
वीरगञ्ज महानगरपालिका–१० मा अवस्थित घडीअर्वा पोखरीसँगै रहेको रामजनकी मन्दिरको प्राङ्गणभित्र गणेश भगवान्को प्रतिमा तयार पारेर पूजा आराधाना गरिँदैछ । उपाध्यक्ष साहले मण्डलले २८औँ पटक गणेश चतुर्थी महोत्सव गर्न लागेको जानकारी दिनुभयो ।
उहाँकाअनुसार शनिबारदेखि बुधबारसम्मको अवधिमा भजन–किर्तन, अखण्ड ज्योति, छप्पन भोग प्रसाद र लडुमहाप्रसाद वितरण लगायतका गतिविधि गरिनेछ । ‘मुलुकमा शान्ति र समृद्धिको कामना र जनताको सुवास्थ्यको कामना गर्दै मनाइँदैछ ।’ उहाँले भन्नुभयो । मण्डलका संस्थापक सदस्य मदनप्रसाद कानुले सम्पूर्ण मानव जातिको रक्षा र सुख समृद्धिको कामना गर्दै गणेश चतुर्थी मनाइने बताउनुभयो । ‘आजदेखि गणेश चतुर्थी महोसत्व सुरु भएर पाँचौँ दिनमा विर्सजन हुने गर्छ ।’ उहाँले भन्नुभयो ।








प्रतिक्रिया