
काठमाडौं, २२ भदौ । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री गोकुल बास्कोटाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कडा आलोचना गर्नुभएको छ ।
उहाँले शनिबार बिहान आफ्नो फेसबुकमा लेखेको स्टाटसमा प्रचण्डको विगतदेखि वर्तमानसम्मको राजनीतिक यात्रामाथि व्यंग्यात्मक टिप्पणी गर्नुभएको छ । ‘प्रचण्ड बंगलादेश बनाउँछु भनेर तर्साउँदै छन्, पहिला स्विट्जरल्याण्ड बनाउँछु भन्थे ।’ नेता बास्कोटाले लेख्नुभएको छ ।
बास्कोटाले प्रचण्डको वर्तमान राजनीतिक अवस्था र अभिव्यक्तिहरूलाई सत्ता गुमाएपछिको प्रतिक्रियाको रूपमा व्याख्या गर्नुभएको हो ।
पूर्वमन्त्री बास्कोटाले प्रचण्डको विगतको कार्यशैलीलाई पनि समीक्षा गर्नुभएको छ । सांसद बास्कोटाले भन्नुभएको छ, ‘तासेलाई तासै चपाउन, जाँडेलाई थाममा बाँधेर भाटा र महिला हिंसा गर्नेलाई कोरा हान्थे ।’ तर अहिले त्यो अवस्था बदलिएको उहाँको भनाइ छ ।
बास्कोटाले थप लेख्नुभएको छ, ‘आज ती क्रान्तिकारी उनैसँग छैनन् र कयौँ त आफै जाँडे, जुवाडे र महिला हिंसाका नमुना बनिसके ।’
नेता बास्कोटाले प्रचण्डको हालको अभिव्यक्तिलाई ‘फगत सत्ता गएको बर्बराहट’ र उहाँको ‘कर्कस’ भनेर चित्रण गर्नुभएको छ ।








प्रतिक्रिया