१३ असार २०८३, शनिबार

दूध किसानको मुहारमा मुस्कान ल्याउने प्रयासमा प्रधानमन्त्री ओली

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले दूध किसानहरूको लामो समयदेखिको समस्या समाधान गर्ने प्रयास गर्नुभएको छ । सरकारले दुग्ध विकास संस्थान (डिडिसी)लाई ६० करोड रुपैयाँको ऋण स्वीकृत गरेको छ, जुन किसानहरूलाई दूधको बक्यौता भुक्तानी गर्नको लागि मात्र प्रयोग गरिनेछ ।

प्रधानमन्त्री ओलीले शुक्रबार राति फेसबुकमा लेख्नुहुँदै किसानहरूले दूधको भुक्तानी नपाएको समस्या बारम्बार सुनिएको उल्लेख गर्नुभएको छ ।

‘किसानहरूलाई दूधको बक्यौता तिर्न मात्र रकम खर्च गर्न पाइनेगरी अहिले एक पटकको लागि सरकारले दुग्ध विकास संस्थान (डिडिसी)लाई ६० करोड रूपैयाँ ऋण स्वीकृत गरेको छ । किसानले दूधको भुक्तानी नपाएको कुरा हामीले बारम्बार सुन्नु परेको छ ।’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।

उहाँले डिडिसीको व्यवस्थापनमा प्रश्न उठाउँदै भन्नुभयो, ‘किसानसँग दूध किनेको भन्दा धेरै मूल्य लिएर बिक्री गर्दा पनि किन घाटा पर्छ ? किसानले भुक्तानी नपाएर मर्कामा पर्ने किन हुन्छ ?’

प्रधानमन्त्री ओलीले स्पष्ट निर्देशन दिनुहुँदै भन्नुभयो कि दुग्ध विकास संस्थानले पहिला किसानहरूलाई भुक्तानी दिनुपर्छ, त्यसपछि मात्र अन्य खर्चहरू गर्नुपर्छ ।

उहाँले डिडिसीलाई चेतावनी दिँदै भन्नुभयो, ‘अब पनि यस्तो भए यसलाई सरकारले सहँदैन ।’

प्रधानमन्त्री ओलीको यो कदमले दूध किसानहरूलाई तत्काल राहत दिनुका साथै देशको दुग्ध उद्योगलाई सुदृढ बनाउन मद्दत गर्ने आशा गरिएको छ ।