
काठमाडौं, २१ भदौ । गत साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा भएको सौर्य एअरलाइन्सको जहाज दुर्घटना अध्ययनका लागि गठित समितिले जहाज दुर्घटनामा तीनवटा कारणा औँल्याएको छ ।
समितिको प्रारम्भिक प्रतिवेदनमा जहाजको तौल असन्तुलन, टेकअफ हुँदै गर्दा रन–वेमा अपाउनु पर्ने गतिको कमी र फेरि उडानमा अपनाउनु पर्ने मापदण्ड पालना नभएका औँल्याएको हो ।
जहाजको लोड कति हुनुपर्ने, लोडिङ र सुरक्षा आवश्यकता रहेको उल्लेख गर्दै समितिले जहाज उडान पूर्व लोडमा ध्यान नदिइएको उल्लेख गरेको छ ।
प्रारम्भिक रिपोर्टले सबै वायुसेवा कम्पनीहरुलाई तत्काल स्पिडकार्डको विषयमा समीक्षा गर्न सुझाएको छ। ‘यो दुर्घटना गराउने कारणको खोजी गर्दै जाँदा व्यवसायिक उडान नभएकाले आफ्नै कम्पनीको तौल नलिई राखिएको भार हो कि टेकअफमा पाइलटले आधार मानेर डेटा प्रणालीमा राखेको भार हो भन्नेमा हाम्रो अनुसन्धान केन्द्रित भएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘टेकअफको स्पिड नै नपुगेर पाइलटले टेकअफ कलम तानेको प्रारम्भिक कारणमा देखिएको छ ।’
सौर्य एअरलाइन्सकोले ५ सेकेन्डमा ५० फिट माथिको उचाइ लिएको थियो। जहाजले १०० फिटसम्मको उचाइ लिएको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै, टेक अफ गरेको २९ सेकेन्डमै जहाज झरेको थियो भने २१ सेकेन्डमा जहाज रोटेड भएको फ्लाइट रेकर्डिङ डेटाबाट देखिएको छ।
शतिशचन्द्रलाल सुमनको संयोजकत्वमा गठन गरिएको ५ सदस्यीय दुर्घटना जाँच आयोगले बिहीबार पर्यटनमन्त्री बद्री पाण्डेलाई बुझाइएको प्रारम्भिक प्रतिवेदनले जहाजको प्राविधिक कारण र पाइलट मात्रैको कारणले उक्त दुर्घटना नभएको पनि दावी गरेको हो ।








प्रतिक्रिया