
काठमाडौं, २० भदौ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवम् वागमती प्रदेश इञ्चार्ज राजन भट्टराई नेतृत्वको टोलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ ।
सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको बागमती नदी र यसका सहायक नदीमा थप २० मिटर मापदण्ड छोडेर खोलको बहाव क्षेत्र किटान गर्न परमादेश दिएपछि उक्त परमादेश सच्चाउनुपर्ने माग गर्दै एमालेले शीर्ष नेताहरूलाई भेटेर ध्यानाकर्षण पत्र बुझाइरहेको छ ।
फैसलाको पुनरावलोकन गर्नुपर्ने एमालेको माग छ ।
भेटमा अध्यक्ष प्रचण्ड पनि फैसलाको पुनरावलोकन गर्ने पक्षमा सहमत देखिनु भएको र सरकार भ्याकेटमा जाँदा माओवादीले समर्थन गर्ने प्रतिवद्वता व्यक्त गर्नुभएको राजन भट्टराईले बताउनुभयो ।
भेटमा सहभागीहरुले नदी किनाराका जग्गा छाड्नुपर्ने अदालतको फैसलापछि काठमाडौंमा ठूलो समस्या सुरु भएको बताउनु भएको थियो । अदालतको आदेशअनुसार काठमाडौंको नदी, खोला र राजकुलो समेत दायाँबायाँ २०/२० मिटर छाड्नुपर्दा दशौं हजार घरपरिवार बिस्थापित हुने र पशुपति नाथ मन्दिर पनि सार्नुपर्ने अवस्था आउने उहाँहरूको भनाइ छ ।
काठमाडौं महानगरपालिका प्रमुखले कार्यान्वयन गर्ने एकल निर्णय गरेपछि थप समस्या आएको भन्दै उहाँहरुले यो फैसला कार्यान्वयन भएमा आर्थिक रूपमा अराजकता पैदा हुने प्रचण्डलाई बताउनु भएको थियो । आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर भ्याकेटमा जान सुझाव दिएको र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरिसकेको जानकारी गराउँदै प्रतिनिधिमण्डलका सदस्यहरुले प्रमुख प्रतिपक्ष दलका नेता र पार्टी अध्यक्षको रुपमा प्रचण्डलाई भेट्न आएको जानकारी गराउनु भएको थियो ।
भेटमा भट्टराईसँगै, एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला, काठमाडौं महानगरपालिकामा पूर्वप्रमुख विद्यासुन्दर शाक्यलगायतको सहभागिता हुनुहुन्थ्यो ।








प्रतिक्रिया