
काठमाडौं, १९ भदौ । काठमाडौं महानगरपालिकाले पेरिस पारालिम्पिक २०२४ मा कास्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई ५ लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ ।
बुधबार काठमाडौं प्लाजामा आयोजना गरिएको कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सम्मान पत्र र उपप्रमुख सुनिता डंगोलले चेक हस्तान्तरण गर्नु भएको हो । त्यस अवसरमा पलेशाका प्रशिक्षकक विराज नेगी लामालाई ३ लाख रुपैयाँसहित सम्मान गरिएको थियो । यस्तै, पलेसाकी माता पनिता गोवर्धन र पिता प्रदिप गोवर्धनलाई पनि सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रममा धारणा राख्दै प्रमुख शाहले नेपालले गर्न सक्छ, भन्ने देखाउन कठिन भइरहेको वर्तमान अवस्थामा ऐतिहासिक पदक दिलाउनुले, नेपालले गर्न सक्छ भन्ने सन्देश दिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालले गर्न सक्छ, भन्ने देखाउन कठिन भइरहेको वर्तमान अवस्थामा ऐतिहासिक पदक दिलाउनुले, नेपालले गर्न सक्छ भन्ने सन्देश दिएको छ । सिमित स्रोतबाट यो पदक हासिल हुनुले खेल क्षेत्रमा जे छ, त्यसैमा पनि गर्न सकिन्छ भन्ने उदाहरण र हौसला दिएको छ ।’
पलेशाका मातापिताको योगदानका कुरा गर्दै उहाँले, खेलमा लाग्नेले पढ्दैनन् भन्ने अभिभावकको सोच परिवर्तन हुनुपर्छ भन्ने सन्देश दिएको उल्लेख गर्नुभयो ।
त्यस क्रममा उपप्रमुख सुनिता डंगोलले पलेशाले आगामी खेलमा भाग लिएको हेर्ने अवसरको अपेक्षा व्यक्त गर्नुभयो । छोरीको सफलताका लागि अभिभावकको अहम् भूमिका हुने बताउँदै उहाँले, पलेशाका बुबाआमा, सन्तानको सफलताकालागि अभिभावकको भूमिकाका लागि उदाहरण भएको उल्लेख गर्नुभयो ।
त्यस क्रममा पलेशाले खेल अनुभव सुनाउँदै भन्नुभयो,‘मैले प्राप्त गरेको पदक देशकै लागि गौरव हो । यसअघि जापानमा भएको खेलमा दिन नसकेको पदक यसपटक दिलाउन सकेँ ।’








प्रतिक्रिया