मोरङ, १९ भदौ । सामाजिक काम गरेको फोटो तथा भिडियो सामाग्री फेसबुकमा सार्वजनिक गरेको विषयलाई लिएर पथरीशनिश्चरे वडा नम्बर ३ का वडा अध्यक्ष विजय लिम्बुले नेकपा (एमाले) पथरीशनिश्चरे-३ का पूर्वसचिव अर्जुन काफ्लेलाई गालीगलौज, अपशब्द प्रयोग गर्दै धाकधम्की पूर्ण अभिव्यक्ति दिएको घटनाप्रति एमाले पथरीशनिश्चरे-३ नम्बर वडा कमिटीले गम्भीर ध्यानार्कषण भएको जनाएको छ ।
पार्टी वडा कमिटी अध्यक्ष खगेन्द्रप्रसाद लुइटेल र सचिव गिरीराज सिम्पानेद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘वडा अध्यक्ष लिम्बुले विकास निर्माणका कार्यलाई किन सामाजिक सञ्जालमा हालेको भन्दै काफ्लेलाई फोनमार्फत गरिएको धम्कीप्रति गम्भीर ध्यानार्कषण भएको छ ।’ सुवेदी चोक उत्तरदेखि बोक्रे चोक सडकखण्डअन्तर्गत वडा नम्बर ३ को भू-भागमा रहेको बाटोको खाल्डाखुल्डीको विषयमा स्थानीयबासीले चासो लिई भदौ १५ गते बिहानको स्थलगत निरीक्षण पश्चात सोही दिनबाट मर्मत सम्भारको काम सुरु गरिएको थियो ।
स्थानीयबासीले गरेको कार्यमा पथरीशनिश्चरेकै पञ्चायत माविका प्रधानाध्यपक अर्जुन बुढाथोकी र पथरीशनिश्चरे-१० का स्थानीय निर्माण व्यवसायी पर्वत थापाले सहयोग गर्नुभएको थियो । सोही विषयमा काफ्लेले सामाजिक सञ्जालमा फोटो र भिडियो अपलोड गर्नुभएको थियो ।
भदौ १६ गते पारिवारिक भेटघाटका क्रममा लेटाङ्गमा रहनुभएका काफ्लेलाई वडा अध्यक्ष लिम्बुले फोनमार्फत त्यस्ता भिडियो र फोटो किन हालेको आफूले लेटाङ्ग नै आएर काफ्लेलाई उठाउनेसम्मका धम्की दिनुभएको थियो।
विज्ञप्तीमा भनिएको छ, ‘वडा अध्यक्षले आफ्नो पदीय मर्यादा विपरित गरेको त्यस किसिमको हर्कतले काफ्लेमा त्रास फैलिएको र उहाँको ज्यानको सुरक्षामासमेत चासोको विषय भएको छ ।’
‘वडा अध्यक्ष लिम्बुले गरेको यस किसिमको उदण्ड र विकास विरोधी क्रियाकलापप्रति निन्दा गर्दै यस किसीमका हर्कत पुनः नदोहोर्याउन र दोहोरिएको खण्डमा उत्पन्न परिस्थितिको जिम्मेवार स्वयम् वडा अध्यक्ष हुनुपर्ने छ’ – विज्ञप्तिमा भनिएको छ ।