
काठमाडौं, १९ भदौ । नेपालको ऐतिहासिक र सांस्कृतिक महत्वको प्रतीक धरहरा अन्ततः सर्वसाधारणका लागि खुला हुने भएको छ । सरकारले आगामी असोज ३ गतेदेखि धरहरा सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
तीन वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन गरिएको धरहरा सहरी विकास मन्त्रालयले सञ्चालनमा ल्याउने तयारी गरेको हो ।
सरकारले धरहरा सर्वसाधारणका लागि खुला गर्ने तयारी गरेसँगै धरहरा निर्माणको जिम्मेवारी पाएको रमण कन्स्ट्रक्सन कम्पनीले पनि आफ्नो कामलाई तीव्रता दिएको छ । कम्पनीकाअनुसार सञ्चालनमा ल्याउने मिति तय भएसँगै सोहीअनुसार काम भइरहेको छ ।
यसबीचै, प्रधानमन्त्री ओलीले पनि धरहरा सञ्चालनमा ल्याउने विषयमा विशेष चासो देखाउनुभएको छ । उद्घाटन भएको लामो समयसम्म पनि सञ्चालनमा आउन नसकेको धरहरालाई गति दिन उहाँले गत साउन १४ गते मन्त्री तथा सचिवहरूलाई विशेष निर्देशन दिनुभएको थियो ।
धरहरा नेपालको राजधानी काठमाडौंको एक प्रमुख पर्यटकीय आकर्षण हो । २०७२ सालको विनाशकारी भूकम्पमा भत्किएपछि यसको पुनर्निर्माण गरिएको थियो ।
धरहराको पुनः सञ्चालनले नेपालको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया