
हेटौंडा, १७ भदौ । स्वतन्त्र विद्यार्थी युनियन हेटौंडा क्याम्पसको आयोजनामा मकवानपुरका १२० जना युवाहरुले भीमफेदी-सुपिङ पदयात्रा सफलतापूर्वक सम्पन्न गरेका छन् ।
हेटौंडा हाइकर्स र नगरस्तरीय युवा सञ्जालको समन्वयमा आयोजित पदयात्रामा हेटौंडा क्याम्पसका ६० जना, हेटौंडा हाइकर्सका ४५ जना र अन्य नगरस्तरीय सञ्जालका सदस्यहरु सहभागी थिए ।
शनिबार भएको पदयात्रा कार्यक्रममा सहभागीहरुले हेटौंडाबाट भीमफेदी हुँदै सुपिङसम्म बसमा यात्रा गरे । त्यसपछि सुपिङदेखि किवी फर्म हुँदै हात्तिसुँडे डाँडासम्म करिब ३ घण्टाको पैदलयात्रा गरेका थिए ।
स्वतन्त्र विद्यार्थी युनियन हेटौंडा क्याम्पसका अध्यक्ष अभि मैनालीले यस पदयात्राको उद्देश्य नयाँ ठाउँको अवलोकन र प्राकृतिक सम्पदाको प्रवर्द्धन गर्नु रहेको बताउनुभयो । उहाँले विद्यार्थी राजनीतिलाई सकारात्मक दिशामा लैजान यस्ता कार्यक्रमहरु महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा सहभागिहरुलाई सुपिङका स्थानीय बासिन्दाहरुले पञ्चे बाजा र खैजेडी भजनद्वारा स्वागत गरेका थिए ।
यसैगरी, गाउँपालिका उपाध्यक्ष सञ्जिव श्रेष्ठ र वडा अध्यक्षहरुले स्थानीय उत्पादनहरु समावेश गरिएको नास्ताको व्यवस्था गरेका थिए ।
पदयात्राका क्रममा सहभागीहरुले किमुशेरी ग्रुप प्रालिद्वारा सञ्चालित किवी फार्मको अवलोकन गरेका थिए । उनीहरुलाई व्यावसायिक किवी खेतीको बारेमा जानकारी दिइएको थियो ।
हेटौंडा हाइकर्सका अध्यक्ष सरोज विष्टले विगत ५ वर्षदेखि हाइकिङ गर्दै आएको जानकारी दिँदै यसपटक स्ववियु र युवा सञ्जालसँग सहकार्य गर्दै पदयात्रा गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । आगामी दिनमा नयाँ स्थानको पहिचान गरी पदयात्रालाई निरन्तरता दिने योजना रहेको उहाँको भनाइ थियो ।








प्रतिक्रिया