३१ जेष्ठ २०८३, आइतबार

नेपालगञ्ज आइसिपीलाई प्रभावकारी बनाउन पहल गर्छु : अध्यक्ष प्रचण्ड

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके, १७ भदौ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालगञ्ज एकीकृत जाँचचौकी (आइसिपी)लाई थप प्रभावकारी बनाउन आवश्यक पहल गर्ने बताउनुभएको छ ।

माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय आन्तरिक प्रशिक्षणका क्रममा नेपालगञ्जमा रहनुभएका उहाँले आज बिहान नेपालगञ्ज आइसिपीको स्थलगत अवलोकन गर्दै भन्नुभयो, ‘गौरव गर्न लायक संरचना निर्माण भएको छ, यसलाई प्रभावकारी बनाउन हामी सबै लाग्नु पर्दछ ।’

आइसिपी मुलुकका सबै नाकामा बनाउने सरकारी नीति रहेको उल्लेख गर्दै उहाँले पहिला बनेका आइसिपीले केही समस्या झेल्नुपर्ने हुनसक्ने बताउनुभयो । आफू प्रधानमन्त्री हुँदा भारत भ्रमणमा रहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै नयाँ दिल्लीबाट नेपालगञ्ज आइसिपीको संयुक्त रूपमा स्वीच अन गरी भर्चुअल माध्यमबाट शुभारम्भ गरेको सम्झना गर्दै उहाँले यसको प्रभावकारी सञ्चालनका लागि सदैव तत्पर रहेको उल्लेख गर्नुभयो ।

अवलोकनका क्रममा नेपालगञ्ज भन्सार कार्यालयका निमित्त प्रमुख भन्सार अधिकृत पूर्णप्रसाद लम्सालले नेपालगञ्ज आइसिपीका बारेमा जानकारी गराउनुभएको थियो ।

आइसिपीमा भन्सार जाँचपासका लागि आवश्यक पर्ने भन्सार कार्यालय, बैंक, पशु क्वारेन्टिन, प्लान्ट क्वारेन्टिन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यारेकलगायत कर्मचारीको आवासगृह निर्माण गरिएको छ ।

भारत सरकारको एक अर्ब ४७ करोड भारु लागतमा ८८ बिघा क्षेत्रफलमा नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा आइसिपी निर्माण भई सञ्चालनमा आएको छ ।