
सङ्खुवासभा, १७ भदौ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य शेरधन राईले पार्टीका कोही पनि कार्यकर्ता जिम्मेवार विहीन नरहने बताउनुभएको छ ।
जिल्ला कमिटी सङ्खुवासभाको तेस्रो पूर्ण बैठकमा आइपुग्नुभएका राईले यो पार्टी सुदृढिकरणको वर्ष रहेको बताउँदै सबै कार्यकर्तालाई अभिमुखिकरण दिने बताउनुभयो ।

एमाले कोशी प्रदेश इन्चार्ज समेत रहनुभएका राईले एमालेका कार्यकर्ताहरुलाई विधि, नीति, पद्धती र नेतृत्वको लाइन रहन आग्रह गर्दै राष्ट्रिय संकल्प र मिसनमा एकढिक्का भएर लागि पर्न आह्वान गर्नुभयो । उहाँले पार्टी सदस्य र कार्यकर्ताहरुले गर्न हुने र नहुने कामबारे जानकारी गराउँदै कडाईका साथ लागु गरिने बताउनुभयो ।
कोशी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहनुभएका राईले आफूहरुले प्रदेशको गुरु योजना बनाएर छोडेको र सोही योजनाअनुसार अहिले काम भइरहेको बताउनुभयो ।
अपर अरुणमा जनताको स्वमित्व रहन्छ
एमाले स्थायी किमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले अपर अरुण जनताको स्वमित्व रहने बताउनुभएको छ । जिल्ला कमिटी सङ्खुवासभाको तेस्रो पूर्ण बैठकको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गौतमले अपर अरुणमा ईच्छुक हरेक घरमा शेयर सुनिश्चितताको ग्यारेन्टी गर्नुभयो । उहाँले भन्नुभयो ‘पैसा नहुनेलाई श्रमदानमार्फत समेत शेयर कायम गर्ने व्यवस्था लागु हुनेछ ।’

सङ्खुवासभाका पूर्वप्रतिनिधि सभा सदस्य गौतमले एक अर्को प्रसंगमा किमाथांका जोड्ने सडकको काम अपेक्षा अनुरुप नभए पनि चाँडै सम्पन्न हुने बताउनुयो । उहाँले ४८ प्रतिशत कम लागतमा ठेक्का लाग्नु बिडम्वना भएको बताउनुभयो । योगमाया विश्वविद्यालयको केन्द्रीय कार्यालय खाँदबारीमा रहने र काम सुरु भइसकेको पनि उहाँले बताउनुभयो । चुनाव अघि होस् वा पछि विकासको काममा एमाले जनताको साथमा रहेको गौतमको भनाइ थियो ।









प्रतिक्रिया