
इलाम, १६ भदौ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सत्ताबाट बाहिरीएपछि प्रतिपक्षीले ‘गाली’को राजनीति सुरु गरेको बताउनुभएको छ । इलामको माई नगरपालिकामा नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति १(१)को प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उपसभापति गुरुङले यस्तो बताउनुभएको हो ।
उहाँले सुनकाण्डका आरोपीलाई अघिल्लो सरकारले उन्मुक्ति दिएको भन्नुहुँदै प्रश्न गर्दै भन्नुभयो ‘उहाँहरुको सुशासन त्यही थियो ?’ असल शासनको कुरा मात्रै गरेर नहुने भन्दै उहाँले अहिलेसम्म सत्तामा बसेका सबैको सम्पत्ति छानबिन गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले संविधान संशोधन गरेर सांसदको सख्या घटाउनु पर्ने बताउनुभयो । उहाँले प्रत्यक्ष निर्वाचन प्रणालीमै समानुपातिकको व्यवस्था राख्नु पर्ने घारणा राख्नुभयो । उहाँले अर्थतन्त्र सुधारका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिनुपर्ने बताउनुभयो । उहाँले स्थानीय मदिरालाई ब्राण्डिङ गरेर करको दायरामा ल्याउनु पर्नेमासमेत जोड दिनुभयो ।
सम्मेलनमा प्रदेश सभा क्षेत्रीय कार्यसमितिका सभापति निश्कल राईले पार्टीको संरचनात्मक सुधार, उम्मेद्वार छनौट प्रकृयामा सुधारलगायतका प्रस्तावसहितको राजनीतिक, सांगठानिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
सम्मेलनमा नेपाली कांग्रेस इलामका जिल्ला सभापति डम्बर खड्का, पुर्वसभापति केशव थापा, क्षेत्रीय सभापति समशेर राई, नेता भेषराज आचार्य, जिल्ला उपसभापति खगेन्द्र देवानलगायतले मन्तव्य राख्नुभएको थियो ।









प्रतिक्रिया