
काठमाडौं, १३ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासँग छलफल सुरु गर्नुभएको छ ।
महामन्त्रीद्वयले पेश गरेको प्रस्ताव बारे केहीबेरअघिदेखि देउवा निवास बुढानिलकण्ठमा छलफल सुरु भएको हो । यसअघि मंगलबार भएको छलफलमा महामन्त्री थापा र शर्माले आफ्नो प्रस्तावबाट पछि नहट्ने अडान लिएपछि निष्कर्षमा पुगेको थिएन ।
पार्टीको महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने र अर्का महामन्त्री शर्माले नेताहरु एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेको विषयमा छलफल गर्न लाग्नुभएको हो ।
पार्टी केन्द्रीय समितिमा महामन्त्रीद्वयको प्रस्तावमा छलफल जारी रहेका बेला सभापति देउवाले यस प्रस्तावलाई परिमार्जित गर्न चाहेको बुझिएको छ ।
महामन्त्री शर्माले अगाडि सारेको प्रस्ताव पारित भएमा देउवाका लागि अब प्रधानमन्त्री हुने बाटो बन्द हुनेछ । सभापति देउवाले चुनावमा गठबन्धन गर्ने विषय नीतिगत नभएर पार्टीको रणनीतिक योजना भएकाले यसलाई अहिले नै निर्णय गरेर जान नहुने पक्षमा रहनुभएको छ ।
त्यस्तै, देउवा पक्षले महामन्त्री शर्माले राखेको प्रस्ताव मान्य नहुने भन्दै प्रस्ताव फिर्ता लिनुपर्ने धारणा राख्दै आएका छन् ।
महामन्त्रीद्वयको प्रस्तावमा सहमति हुन नसक्दा मंगलबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक भदौ १६ गते बोलाएको छ ।








प्रतिक्रिया