८ असार २०८३, सोमबार

माडी नगरपालिकाद्वारा भारतमा पहिरोमा परी मृत्यु भएका ३ जनाका परिवारलाई आर्थिक सहयोग

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १२ भदौ । भारतमा पहिरोमा परी मृत्यु भएका चितवन माडीका तीनजनाको परिवारलाई माडी नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ ।

गत बिहीबार भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा परेर मृत्यु भएकाका परिवारलाई किरिया खर्च र अन्य आवश्यक सहयोग गर्ने भएको हो ।

शव ल्याउन पहल गरेको नगरपालिकाले किरिया खर्चबापत प्रत्येक परिवारलाई रु २५ हजार तत्काल उपलब्ध गराइने माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘तत्कालका लागि रु २५ हजार किरिया खर्च सहयोग गरेका छौँ, अन्य आवश्यक सहयोग कार्यपालिकाको बैठकपछि निर्णय गरेर गर्नेछौँ ।’ उहाँले सबै परिवारको अवस्था नाजुक रहेको जनाउँदै उहाँहरूले काम गरेको कम्पनीबाटसमेत राहत दिलाउन पहल गरिरहेको बताउनुभयो ।

बद्रीनाथबाट केदारनाथ जाने सडकमा पर्ने फाटा क्षेत्रमा गत बिहीबार मध्यराति खसेको पहिरोमा परी चितवन माडीका तीनजना र दैलेखका एकजना मजदुरको मृत्यु भएको थियो । उहाँहरू सुतेको अवस्थामा पहिरो खसेको जनाइएको छ ।

पहिरोमा परेर माडी नगरपालिका–२ शीतलपुरका ५८ वर्षीय तुलबहादुर दमाई, वडा नं १ भङ्गताका २६ वर्षीय कृष्णबहादुर परियार र वडा नं ५ छरछरेका २८ वर्षीय पूर्णबहादुर नेपाली तथा दैलेखका दीपक बुढाको पहिरोमा पुरिएर घटनास्थलमा मृत्यु भएको हो । उहाँहरूको शव शनिबार राति ल्याइएको थियो ।

पेट्रोलपम्प र बाटो निर्माणमा श्रमिकका रूपमा काम गर्दै आउनुभएका उहाँहरू पवनहंश हेलिप्याड नजिकको शिविरमा बस्ने गर्नुभएको थियो ।