२८ जेष्ठ २०८३, बिहिबार

थासाङ हिउँपहिरो : थुनिएको बोक्सीखोला बग्न थाल्यो

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, १२ भदौ । धवलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मंगलबार साँझ खसेको हिमपहिरोले पूर्ण रूपमा थुनिएको मुस्ताङको थासाङ गाउँपालिकामा रहेको बोक्सीखोला बग्न थालेको छ ।

मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मुलखर्कबाट बोक्सीखोला क्षेत्रमा हिउँपहिरोले थुनिएको खोला करिब १३ घण्टापछि आज बिहानदेखि बग्न थालेको हो । थासाङ–२ का वडाध्यक्षसमेत रहनुभएका गाउँ कार्यपालिकाका प्रवक्ता गौतम शेरचनले मंगलबार बिहानदेखि थुनिएको ठाउँबाट खोला बग्न थालेको बताउनुभयो ।

‘मंगलबार साँझ ५ः४५ बजेतिर खसेको हिउँपहिरो थुप्रिएर बोक्सी खोला पूरै सुकेको थियो’, उहाँले भन्नुभयो, ‘सामान्य अवस्थाको तुलनामा आधा जति बगेको खोलामा विस्तारै पानीको मात्रा बढ्दै गएकाले तटीय क्षेत्रमा सतर्कता अपनाएका छौँ ।’

खोँचमा थुप्रिएको हिउँलाई खोलाको पानीले पगालेर विस्तारै बग्न थालेको शेरचनले बताउनुभयो । तटीय क्षेत्रका नौवटा घरलाई राति सुरक्षित ठाउँमा सारिएको थियो । पाखो र खोला किनारमा थुप्रिएको हिउँ पहिरोले मानवीय र भौतिक क्षति नगरेको थासाङ गाउँपालिका–२ का वडा सदस्य भीमप्रसाद थकालीले बताउनुभयो ।

बोक्सीखोलाको मूलखर्कदेखि तल करिब एक किलोमिटरसम्म हिउँपहिरो थुप्रिएको छ । सो ठाउँमा यही भदौ ७ गते दिउँसो पनि हिउँ पहिरो खसेको थियो । हिउँ पहिरोले थुनिएको बोक्सीखोला तीन घण्टापछि बग्न थालेको थियो । यसअघिकै हिउँको थुप्रो पग्लिएर नसकिँदै पुनः पहिरो आएर हिउँ थपिएको हो ।

बोक्सीखोला कालीगण्डकीको सहायक खोला हो । तीनवटा ठाडो खोला मिसिएर बोक्सीखोला बग्ने गर्छ । आसपासमा बस्ती नभए पनि बेनी–जोमसोम सडक बोक्सीखोलामा पर्दछ । थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचन, वडाध्यक्ष शेरचनसहित सुरक्षाकर्मीको टोलीले हिउँपहिरो थुप्रिएको ठाउँको निरीक्षण गर्नुभएको थियो । हिउँ पहिरो थुप्रिएको ठाउँमा तलाउ छैन । हिउँ विस्तारै पग्लने भएकाले जोखिम कम हुने अनुमान गरिए पनि पूरै नपग्लिँदासम्म तटीय क्षेत्रमा सतर्कता अपनाउनुपर्ने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभयो ।

यसअघि विसं २०७८ कात्तिक २८ र फागुन २१ गते थासाङ गाउँपालिका–२ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिरोले एक सय ५० भन्दा बढी चौँरीगाई मरेका थिए । पछिल्लो हिउँपहिरोबाट मानवीय र पशुधनको क्षति भने नभएको जिल्ला प्रशासनले जनाएको छ ।