
कास्की, १२ भदौ । अन्नपूर्ण क्षेत्रमा पदयात्रा गर्ने क्रममा बेपत्ता भएका दुई स्पेनिस नागरिकमध्ये एक जनाको शव फेला परेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका-९ तिखेढुङ्गाबाट आइतबार हराउनुभएका ३७ वर्षीय इरिक कासानोभासको शव भुरुङ्दी खोलामा फेला परेको हो ।
अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङकाअनुसार इरिकको शव मौजाखोलाभन्दा लगभग एक किलोमिटर तल भुरुङ्दी खोलाको बीचमा ढुङ्गामा अड्किएको अवस्थामा भेटिएको छ । तर, उहाँकी ३२ वर्षीया साथी मोलास जुन्का मेसीको अवस्था अझै अज्ञात रहेको छ ।
उहाँहरू गत भदौ ९ गते अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को बिरेठाँटी चेकपोष्टमा घोरेपानी जाने क्रममा बेपत्ता हुनुभएको थियो । सोही दिन साँझ बाटोमा दुईवटा झोला बेवारिस अवस्थामा भेटिएपछि पर्यटक हराएको आशङ्कामा खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीकाअनुसार फेला परेका झोला बिरेठाँटी प्रहरी चौकीमा ल्याएर खोलेर हेर्दा पर्यटकको भएको पुष्टि भएको थियो ।
सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, पर्यटन व्यवसायी र स्थानीयवासीको संयुक्त टोलीले खोजी कार्य जारी राखेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना विरेठाँटी चेकपोष्टका इन्चार्ज यामबहादुर गुरुङले बेपत्ता महिलाको खोजी बुधबार पनि जारी रहने जानकारी दिनुभएको छ।
प्रहरीको अनुमानअनुसार पर्यटकहरू भुरुङ्दी खोला नजिकको झरनामा तस्वीर खिच्ने क्रममा खोलामा खसेको हुनसक्ने देखिन्छ । घटनाबारे सम्बन्धित देशको राजदूतावासलाई जानकारी गराइएको छ ।









प्रतिक्रिया