१ असार २०८३, सोमबार

सिँचाइ पोखरीमा डुबेर दाजुबहिनीको मृत्यु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ, ११ भदौ । हलेसी तुवाचुङ नगरपालिका–३ च्याम्टिारस्थित बाङमाका दुई बालबालिकाको एउटै सिँचाइ पोखरीमा डुबेर मृत्यु भएको छ । च्याम्टिारस्थित बाङमाका स्थानीय गइन्द्र राईको छ वर्षीय छोरा सङ्गम राई र तीन वर्षीया छोरी समृद्धि राईको सोमबार साँझ सिँचाइ पोखरीमा डुबेर मृत्यु भएको हो ।

दिनभर घरैमा खेलिरहेका दाजुबहिनी बेलुकीपख हराएपछि खोजी गर्ने क्रममा घरदेखि केही पर रहेको भुतियाखोला नजिकै बनाइएको सिँचाइ पोखरीमा डुबिरहेको आवस्थामा फेला पारिएको थियो । बेलुका पौने छ बजे फेला पारिएका दुवैजनालाई हातखुट्टा चलाउँदै गरेको अवस्थामा सिँचाइ पोखरीबाट उद्धार गरेर घरमा ल्याएको केही समयमा दुवै जनाको मृत्यु भएको वडाध्यक्ष भूपालसिंह राईले जानकारी दिनुभयो ।

घटना भएको जानकारी पाएलगत्तै प्रहरी चौकी च्यास्मिटारबाट प्रहरी सहायक निरीक्षक जबरबहादुर बस्नेतको नेतृत्वमा प्रहरी टोली खटिएका छन् । घटनास्थलमा खटिएका प्रहरी टोलीलाई घटनास्थल सुरक्षित राख्न लगाएर थप अनुसन्धान तथा कानूनी प्रकृयाका लागि जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थालतर्फ गएको सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो ।

खानेपानीको मुहानसमेत रहेको उक्त स्थानमा सिँचाइका लागि पोखरी निर्माण गरिएको थियो । सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसीस्थित च्यास्मिटारका स्थानीय बासिन्दा हिउँदको समयमा मुहानमा खानेपानी लिन जाने गरेका थिए । अहिले वर्षाद्को समयमा गाउँमै अर्को मुहानमा पानी भएकाले पोखरी भएको ठाउँमा खासै मान्छे जाँदैन थिए ।

मृतक सङ्गम स्थानीय कलङ्का आधारभूत विद्यालको कक्षा–२ मा अध्ययनरत थिए । बुबा गइन्द्र रोजगारीका लागि हाल विदेशमा हुनुहुन्छ । गइद्र र ममताको दुवै सन्तानको पोखरीमा डुबेर मृत्यु भएपछि अहिले गाउँ नै शोकमा डुबेको छ ।