२२ जेष्ठ २०८३, शुक्रबार

मिसन ८४ देश र एमाले बलियो बनाउने अवसर : शेरधन राई

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, १० भदौ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश कमिटीका इन्चार्ज शेरधन राईले मिसन ८४ पार्टी संगठन मात्र नभई देश नै समृद्ध बनाउने योजना रहेको बताउनुभएको छ । एमालेको नेतृत्वबाट मात्रै मुलुक समृद्ध बन्नसक्ने बताउनुहुँदै उहाँले भन्नुभयो, ‘एमालेले अघि सारेको मिसन ८४ पार्टी र देश बलियो बनाउने एउटा सुनौलो अवसर हो ।’

एमाले जिल्ला कमिटी उदयपुरको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै नेता राईले मिसन ८४ यो देशका जनताको भाग्य र भविष्यसँग जोडिएकाले मसिनो ढंगले अध्ययन गरी पार्टीले योजना अघि सारेको बताउनुभयो । इन्चार्ज राईले भन्नुभयो, ‘हामी प्रत्येक मतदाताको घरमा पुग्छौँ र जनताको समस्या बुझ्छौँ र तत्काल सके समाधान गर्छौँ नसके विकल्प खोज्छौँ तर पूरा गरेर छाड्छौँ ।’

‘हिजो जस्तो टालटुले काम र फर्जी रिपोर्टिङ अब एमालेमा चल्दैन ।’ उहाँले भन्नुभयो, ‘हिजो जे जस्तो गरे पनि हुन्छ भन्ने कसैले मनमा भ्रम पाल्नु भएको छ भने अहिले त्याग्नुस त्यस्तो रिपोर्टिङ र काम गर्ने नेता अब एमालेमा चाहिएको छैन र रहन पनि सक्दैन् ।’

उहाँले हिजो टालटुले काम गरेर नेताको अघिपछि लाग्दा प्रमोसन हुने भन्ने थियो त्यो अब हुन सक्दैन, त्यसैले तोकिएको जिम्वेवारी पूरा नगर्नेलाई घटुवा गर्ने नीति पार्टीले अघि सारेको बताउनुभयो । नेता राईले भन्नुभयो, ‘गुटबन्दी, गलत लबिङ गर्ने, प्रलोभनमा पार्ने जस्ता काम पार्टी हितविपरित रहेकाले त्यस्ता व्यक्तिलाई पछि पार्दै जनताको सरोेकारका विषय वस्तुमा छलफल र काम गरिदिने नै अबको निर्वाचनको टिकटको दाबेदार हुन् ।’

उहाँले सामाजिक सञ्जालको बढ्दो दुरुपयोगलाई न्यूनीकरण गर्न कोशी प्रदेश कमिटीले नेता कार्यकर्ताका लागि १३ बुँदे आचारसंहिता जारी गरिसकेकाले त्यसलाई प्रचार विभागमार्फत निगरानी बढाई कार्यान्वयन गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘चित्त नबुझेका, टिकट नदिएको झ्वाकमा सामाजिक सञ्जालमा नेता र पार्टीकाविरुद्ध जथाभावि लेख्ने काम भएको देखिन्छ, यदि त्यसो हो भने जो कोही नेतालाई छोडिन्न, त्यसैले सामाजिक सञ्जालको गहिरो अध्ययन गरौँ ।’

नेता राईले भन्नुभयो, ‘पार्टी भित्र असन्तुष्टि छ, नेता मन परेन, निर्णय चित्त बुझेन भने त्यसको सुनवाई गर्ने ठाँउ पार्टी कमिटी बैठकमा छ, तर त्यसो नगरी सामाजिक सञ्जालमा लेख्ने, चिया चौतारामा बोल्ने जो कोहीलाई छाडिन्न, एक पटक सच्याउने मौका दिनुस् नसुध्रिए बिदा गरिदिनुस् ।’ उहाँले यो वर्ष पार्टीको शुद्धीकरण र सुदृढीकरणको वर्ष भएकाले एक व्यक्ति एक पदको जिम्वेवारीलाई कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

बैठकलाई एमाले पोलिटव्युरो सदस्य तथा उदयपुर इन्चार्ज मन्जुकुमारी चौधरी, केन्द्रीय सदस्य तथा दुई वटै निर्वाचन क्षेत्र इन्चार्ज अम्बिका थापा, कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले सम्बोधन गर्नुभएको थियो ।

बैठकमा जिल्ला कमिटीलाई थप व्यवस्थित गर्न र पार्टी गतिबिधिलाई प्रभावकारी बनाउन सचिवालय गठन, विभागिय जिम्वेवारी, वडा तथा फाँट इन्चार्ज तथा अन्य पार्टीबाट आएकालाई समायोजन र मनोनित जस्ता महत्वपूर्ण जिम्वेवारी बाँडफाँटका प्रस्तावहरु भएपनि समय अभावका कारण निर्णय हुन सकेन । ‘तयार पूरा नभएकाले समय मागेका हौँ ।’ एमाले उदयपुर जिल्ला अध्यक्ष भागवत राउतले भन्नुभयो, ‘बैठक ११ गते गर्ने तयारीमा थियौँ, प्रदेश कमिटीको सेड्युल अनुसार ८ गते नै गर्नु पर्ने भएकाले हामीले जिम्मेवारी बाँडफाँट जस्तो महत्वपूर्ण कार्यलाई जति गृहकार्य गर्नु पर्ने थियो त्यो हुन सकेन, त्यसैले केन्द्रीय नेतृत्व र पदाधिकारीबाट टुंगो लगाउने गरी बैठकबाट अख्तियारी प्राप्त भएको छ ।’

‘बढीमा पाँच दिने भित्र टुंगो लगाउने गरी अख्तियारी प्राप्त भएको छ, समयसिमा भित्रै कार्यविभाजन गरी सर्कुलर जारी गर्छौँ ।’ अध्यक्ष राउतले भन्नुभयो, ‘जसरी सदस्यता नवीकरणमा देशभरमै पहिलो भयौँ, अब अद्यावधिकमा पार्टी निर्माणमा पहिलो हुनेगरी योजना अघि सारेका छौँ, जसलाई कार्यविभाजनले ठूलो सहयोग पुग्छ ।’

उहाँले भन्नुभयो, ‘पार्टी नेता र कार्यकर्ताबीच उदयपुरमा खासै ठूला समस्या छैनन्, सामान्य समस्या छन् जसलाई हामी निराकरण गर्न सवल छौँ र अबको मिसन विगतका सबैकुरा बिर्सिएर, पार्टी निर्माणमा लागि पर्छौँ ।’ अध्यक्ष राउतले प्रदेशसँग नजुध्ने गरी वार्षिक कार्ययोजना बनाई पार्टी अभियानलाई व्यवस्थित रूपले अघि बढाउने निर्णय गरिएको बताउनुभयो ।

बैठकमा पार्टीको कोशी प्रदेश इन्चार्जको जिम्मेवारी पाउनुहुने स्थायी कमिटी सदस्य शेरधन राई, जिल्ला इन्चार्ज पोलिटव्युरो सदस्य मन्जुकुमारी चौधरी, निर्वाचन क्षेत्र इन्चार्ज केन्द्रीय सदस्य अम्बिका थापा र केन्द्रीय सल्लाहकार सदस्य बैकुण्ठनाथ दाहाललाई सम्मान गरिएको थियो ।

अध्यक्ष भागवत राउतको अध्यक्षता, उपाध्यक्ष कालुमान लामाको स्वागत मन्तव्य र उपसचिव हेम खड्काको सञ्चालनमा भएको बैठकमा आठ वटै पालिकाका अध्यक्षहरुले पालिकामा पार्टीको अवस्था, भइरहेका गतिविधिका बारेमा प्रगति विवरण प्रस्तुत गर्नुभएको सचिव टेकबहादुर राउतले बताउनुभयो ।