२९ जेष्ठ २०८३, शुक्रबार

एमाले मकवानपुरको सल्लाहकार कमिटी अध्यक्षमा हुमागाई

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ८ भदौ । जिल्लाकै सबैभन्दा ठूलो राजनीतिक दल नेकपा (एमाले) मकवानपुरको जिल्ला सल्लाहकार कमिटी अध्यक्षमा बलराम हुमागाई चयन हुनुभएको छ । मकवानपुरगढी निवासी हुमागाईलाई शनिबार भएको सल्लाहकार कमिटीको बैठकले अध्यक्षमा चयन गरेको पार्टी जिल्ला अध्यक्ष श्रीधर पोखरेलले जानकारी दिनुभयो ।

सल्लाहकार कमिटी अध्यक्षमा उहाँको दोस्रो कार्यकाल हो । हुमागाई मकवानपुरमा कम्युनिष्टको जग बसाल्ने नेतृत्वमध्येका एक हुनुहुन्छ । पञ्चायत कालिन समयमा कम्युनिष्ट आन्दोलनको अग्रमोर्चामा सहभागी हुमागाईलाई जिल्लामा सम्मानित नेताका रुपमा लिने गरिन्छ ।

मकवानपुरगढी गाउँपालिकामा एमालेको जग बसाल्ने हुमागाई हुनुहुन्छ । पार्टीले मकवानपुरगढीमा पहिलो पटक सम्पर्क गरेको नेता पनि हुमागाई हुनुहुन्छ । उहाँकै नेतृत्वमा गढीमा एमाले विस्तार भएको थियो ।

यस्तै, एमाले जिल्ला सल्लाहकार कमिटी सचिवमा चेतनाथ खतिवडा चयन हुनुभएको छ । अध्यक्ष हुमागाई र सचिव खतिवडाले शनिबार एक कार्यक्रमकाबीच पद तथा गोपनीयताको शपथ लिनुभयो ।

यसैगरी, ज्येष्ठ कम्युनिष्ट मञ्चको बैठकबाट बनमाली सुवेदी अध्यक्ष, चन्द्रकान्ता श्रेष्ठ सचिव चयन हुनुभएको पार्टी अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । पार्टी जिल्ला अध्यक्ष पोखरेलको अध्यक्षता तथा पार्टी केन्द्रीय सदस्यसमेत रहेका जिल्ला ईञ्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा शपथ ग्रहण कार्यक्रम भएको हो ।

मकवानपुरमा कम्युनिष्टको जग बसाल्ने, अग्रज नेताहरुको सल्लाह र युवाहरुको साथमा पार्टीलाई गतिशील ढंगले अगाडि बढाउने पार्टी जिल्ला अध्यक्ष पोखरेलले बताउनुभयो ।