१९ असार २०८३, शुक्रबार

प्रधानमन्त्री र युवाबीच संवाद : युवाहरुलाई स्वदेश फर्कने वातावरण बनाउँदै सरकार

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । शनिबार युथ कन्क्लेभमा बोल्दै उहाँले धेरैजसो युवाहरू नेपाल फर्किन तयार रहेको र सरकारले त्यसका लागि अनुकूल वातावरण बनाइरहेको उल्लेख गर्नुभयो ।

‘युवाहरूलाई स्वदेशमा फर्काउने कार्यक्रम ल्याउन अहिलेको सरकारसँग आश र भर गर्नुस् ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले आफ्नो सरकार देशमा परिवर्तन ल्याउने उद्देश्यले बनेको र यसमा विश्वास गर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले समाजमा बढ्दो स्वार्थी प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै यसले बलात्कार जस्ता अपराध बढाएको बताउनुभयो । ‘समाजमा मानिसले सामाजिक प्राणी भएर रहन सक्नुपर्छ ।’ उहाँले भन्नुभयो । बलात्कारीहरूलाई कडा कारबाही गरिने र यस्ता अपराध रोक्न आवश्यक कदम चालिने प्रधानमन्त्री ओलीको भनाइ थियो।

यसैगरी, प्रधानमन्त्री ओलीले देशमा छिट्टै महिला प्रधानमन्त्री बनाउने योजना रहेको पनि बताउनुभयो । युथ कन्क्लेभमा युवाहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले यसका लागि केही तयारी आवश्यक रहेको उल्लेख गर्नुभयो ।

‘म महिला प्रधानमन्त्री बनाउन चाहन्छु, तर त्यसका लागि अलिकति तयारी गर्नुपर्छ ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले तत्काल महिला प्रधानमन्त्री बनाउन नसकिने तर यसबारे गम्भीरतापूर्वक सोचिरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा महिला सशक्तीकरणका लागि गरेका प्रयासहरूको पनि उल्लेख गर्नुभयो । उहाँले आफ्नो पहलमा नेपालमा पहिलो महिला राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, रक्षामन्त्री र पहिलो महिला मुख्यमन्त्री बनेको स्मरण गराउनुभयो ।

त्यसैगरी, प्रधानमन्त्री ओलीले सरकारी भ्रमण टोलीमा महिला सहभागिता अनिवार्य गरेको पनि जानकारी गराउनुभयो । ‘विदेश भ्रमण वा कुनै प्रतिनिधिमण्डलमा जाँदा महिला अनिवार्य गर्ने व्यवस्था मिलाएको छु ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।