
भैरहवा, ८ भदौ । भन्सारको नेतृत्व र सुरक्षा निकायको सहकार्यमा निरन्तर अवैध सामान नियन्त्रणमा आएपनि तस्करहरुको काममा भने गिरावट भएको छैन । भारतसँग ५९ दशमलव ७ किमी जोडिएको रुपन्देही जिल्ला खुला सीमा चुनौतीको विषय भएपनि सामना गर्न सुरक्षा निकायका युनिट परिचालन छन्, स्रोत साधन र जनशक्ति अनुसार नियामक निकाय लागेपनि तस्करहरुले काममा भने ब्रेक लगाएका छैनन् ।
सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालसहितको टोली रुपन्देही भएकै बेला तस्करहरुले सामान ओसार गर्नु ठूलो आँट हो । दर्जनौँ प्रहरी अहिले सडकमा परिचालन भएपनि तस्करहरुका अवैध सामानको ट्रक गुडिरहेको पाइएको छ ।
शनिबार बिहान २ बजे भन्सारको टोलीले चिनीसहितको ट्रक र कपडा बरामद गरेको छ । विशेष सूचनालाई आधार बनाई भन्सार कार्यालय प्रमुख नारद गौतमसहितको टोली सक्रिय रुपमा निगरानी बढाउँदै अवैध वस्तु धमाधम नियन्त्रणमा लिइरहेका छन् ।
भन्सारकै नेतृत्वमा गएको टोलीले सशस्त्र प्रहरी डण्डाको सहकार्यमा लुम्बिनी रोड प्रकटेश्वर मन्दिर जाने बाटोबाट ट्रकसहित करिब २०० बोरा अवैध चिनी बरामद गरेको छ । ग २ ख १२९० नम्बरको ट्रकमा लोड भएको अवस्थामा चिनी बरामद गरिएको हो । अवैध चिनीसहितको ट्रक भने रमवापुर प्रहरी चौकी नजिकै रहेको थियो । यस्तै, सोही स्थानबाट थप संचित गरेको अवस्थामा ४० बोरा चिनी सशस्त्र प्रहरीले बरामद गरेको छ । राति नै गएको सोही भन्सार टोलीले लुम्बिनी रोड मोतिपुर क्षेत्रबाटै २ वण्डल कपडा समेत बरामद गरेको छ । ठूलो बण्डलमा कपडा लोड गरी मोटरसाइकल कुदाइरहेको अवस्थामा भन्सार टोली पछएपछि २ वटै मोटरसाइकलले कपडा छाडी भागेका थिए ।
भैरहवा भन्सार कार्यालयले राजश्य लक्ष्य प्राप्त गर्न नसकेपनि पछिल्लो समय भारतबाट अवैध रुपमा भित्रिएको मालवस्तु बरामद गर्दै आएको छ । यस सातामा मात्रै भन्सारले भैरहवा गल्लामण्डीको २ वटा गोदाममा छापा हानेको छ । भैरहवा भन्सार कार्यालयको नेतृत्व नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालय रुपन्देहीको समन्वयमा अवैध रुपमा ल्याई भण्डारण गरेको अवस्थामा गल्लामण्डीबाट ७५ बोरा चिनी र ९२ बोरा मटर बरामद गरेको थियो ।
यस्तै, सोमबार गल्लामण्डी क्षेत्रकै विभिन्न २ वटा घरमा संचित गरेर राखेको अवस्थामा वडा नम्बर ६ क्षेत्रबाट १२२ बोरा र वडा नम्बर ४ क्षेत्रबाट ५७ बोरा चिनी बरामद गरेको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहकार्यमा ती अवैध सामान नियन्त्रणमा लिएको हो ।
भैरहवा भन्सार कार्यालयले पछिल्लो एक वर्षमा नेपाल भित्रिएको करोडौं मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । पछिल्लो समय सेवा प्रवाहसँगै भन्सारको टिम तस्करी निणन्त्रणमा सक्रिए देखिएको छ । रातदिनको गस्ती र सूचनाको सुक्ष्म निगरानीले अवैध पैठारीकर्ता धमाधम नियन्त्रणमा आइरहेको भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले बताउनुभयो । भन्सारले सीमा क्षेत्रमा निगरानी बढाउँदा यो सफलता हात लागेको हो ।
सूचना र नियमित निगरानीले दर्जन गोदाममा छापा मारेर सामान, ढुवानीको साधन र मानिस नियन्त्रणमा लिइएको छ । भन्सारसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि सीमा क्षेत्रबाट करोडौंका सामान बरामद गरेका छन् ।
सीमा सुरक्षा र अवैध गतिविधी नियन्त्रण गर्न सशस्त्र प्रहरीको जिम्मेवारी छ भने नेपाल प्रहरीको पनि ठूलो टिम पनि अवैध वस्तुको ओसारपसर नियन्त्रणमा लाग्ने गरेको छ । सुरक्षा घेरा हुँदाहुँदै पनि तस्करका सामान निर्वाध रुपमा भित्र्याइरहेका छन् । सिमित स्रोत साधन र जनशक्ति भएको भन्सारले निरन्तर यस्ता अवैध वस्तु नियन्त्रण गरिरहेकै छ ।
पछिल्लो समय चामल, चिनी, मटर, कपडा र प्याजको तस्करी बढेको छ । यसका अलावा दैनिक उपभोग्य सामान, हार्डवेयर, मेसिनरी तथा इलेक्ट्रीक सामानहरु विभिन्न नाकाबाट भित्रिरहेको सुरक्षा निकायले बरामद गरेको तथ्याङ्कले देखाउँछ । सीमा क्षेत्र नजिक रहेका गल्लाभण्डारहरुले पनि धान, गहुँ र चामल अवैध रुपमा भित्र्याइ वैध बनाउने गरेका छन् ।








प्रतिक्रिया