
काठमाडौं, ८ भदौ । नेपाल कृषि अनुसन्धान परिषद्का वैज्ञानिक कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले तलबमान र अन्य सेवा सुविधामा भएको विभेद् अन्त्य गर्न माग गरेका छन् ।
वैज्ञानिक कर्मचारीहरुकाअनुसार २०५७ साल साउन १ गतेदेखि प्रशासनिक समूहका केही कर्मचारीहरुले परिषद् व्यवस्थापनलाई प्रभावमा पारी वैज्ञानिक कर्मचारीहरुको तलबमान कम हुनेगरी निर्णय गराएका थिए । यसले गर्दा वैज्ञानिक कर्मचारीहरुमाथि अन्याय भएको उनीहरुको भनाई छ ।
यस विषयमा गतवर्ष १५ चैतमा उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको थियो । अदालतले गत जेठ २ गते वैज्ञानिक कर्मचारीहरुको पक्षमा फैसला गर्दै साउन १ गतेदेखि लागू हुनेगरी समान तहका प्राविधिक/प्रशासनिक कर्मचारीसरह तलबमान कायम गर्न आदेश दिएको थियो । तर, अदालतको फैसला कार्यान्वयन नभएको भन्दै वैज्ञानिक कर्मचारीहरु आन्दोलित भएका हुन् ।
वैज्ञानिक कर्मचारीहरुले परिषद् व्यवस्थापनको राजीनामा, अदालतको आदेश तत्काल कार्यान्वयन, समान स्रोत साधनको वितरण र उचित अनुसन्धान वातावरणको माग गरेका छन् ।
कर्मचारीहरुले यथाशीघ्र माग पूरा नभए कडा कदम चाल्ने चेतावनी दिएका छन् ।








प्रतिक्रिया