४ असार २०८३, बिहिबार

बाबुको बस देख्दादेख्दै मर्स्याङ्दीमा, बचाउन सकिनँ भन्दै भाइलाई सुनाए घटना

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदौ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा बस खसेको चालकका छोराले देखेका थिए । उनी अर्को बस चलाइरहेका थिए र उनको बस दुर्घटनामा परेको बसको पछाडि थियो, तर बस खोलामा खसेको देख्ने बित्तिकै उनले आफ्नो बस रोकेर घटनास्थलमा पुगे । उनले केही गर्नुअघिनै बस ५ सय मिटर तल खोलामा खसिसकेको थियो ।

दुर्घटनामा परेको बसका चालक भारतको गोरखपुरको पिपराइच गाउँका अहमद अली शाह मुर्तजा रहेको पहिचान भएको छ । अर्को बस उहाँका छोरा इब्राहिमले चलाइरहनुभएको थियो । उहाँले आफ्नो बुबाको बस खोलामा खसेको देख्नुभएको थियो ।

मिडिया रिपोर्टकाअनुसार बस चालक मुर्तजाका छोरा इब्राहिमले भाइ हसनैनलाई दुर्घटनाको बारेमा घटना लगत्तै फोनमा सुनाउनुभयो । उहाँले बुबा (अब्बु)लाई बचाउन नसकेको भन्दै हसनैनसँग माफी पनि माग्नुभयो । उहाँले बुबाको बस आँखा अगाडि खोलामा खसेको र बुबा र यात्रुहरुका लागि आफूले केही गर्न नसकेको पीडा पोख्नुभएको थियो ।

तीन वर्षअघि डम्पर दुर्घटनामा इब्राहिमले भाइ गुमाउनुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । शुक्रबार उहाँका बुबाको पनि आँखा अगाडि मृत्यु भयो । अहिले परिवारमा उहाँका आमा, एक भाई र दुई दिदीबहिनी हुनुहुन्छ ।

मिडिआ रिपोर्टकाअनुसार इब्राहिमले आफू र बुबा मुर्तजा लामो समयदेखि केशरवानी ट्राभल्ससँग आवद्ध रहेको बताउनुभएको छ । दुवै जना पर्यटकलाई नेपाल लैजानुहुन्थ्यो । १६ अगस्ट दुवै जना सँगै नेपाल प्रस्थान गर्नुभएको थियो । २९ अगस्ट भारत फर्किने तय भएको थियो तर यसपटक यो यात्रा मुर्तजाको अन्तिम यात्रा भयो ।

शुक्रबार पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा चालकसहित २७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको चितवनमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १६ भारतीय यात्रीको महाराजगंजस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।